काठमाडौं । निक्षेपको ब्याजदर लगातार घट्दै गएसँगै कर्जाको ब्याजदर पनि सस्तिँदै गएको छ । बैंकहरूले गत वर्षको कात्तिकदेखि महिनै पिच्छे निक्षेपको ब्याजदर घटाउँदा लागत घट्न गई बैंकहरूको आधारदर (बेसरेट) निकै सस्तिएको हो ।
वाणिज्य बैंकहरूले साउनका लागि सार्वजनिक गरेको बेसरेट अनुसार औसत बेसरेट ८.१३ प्रतिशतमा झरेको छ । यो पछिल्लो दुई वर्ष यताकै सस्तो हो । असारमा बैंकहरूको औसत बेसरेट ८.३६ प्रतिशत रहेकोमा साउन ०.२३ प्रतिशत बिन्दुले सस्तिएको हो ।
बैंकिङ प्रणलीमा तरलता अभाव हुँदै गएपछि बैंकहरूले निक्षेपको ब्याज बढाउँदा २०७८ असारदेखि बेसरेट महँगिँदै गएको थियो । सो बेला औसतमा ६.८९ प्रतिशत रहेको बेसरेट २०७९ पुसमा बढेर १०.७८ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बेसरेट अहिले ८.१३ प्रतिशतमा झरेको हो ।
आर्थिक शिथिलताका कारण कर्जाको माग नबढेपछि बैंकहरूले लगातार निक्षेपको ब्याज घटाउँदा ब्याज खर्च कटौती हुन गई बेसरेट सस्तिएको हो । बेसरेट घट्दै गएसँगै कर्जाको ब्याजदर पनि सस्तिँदै गएको हो ।
पछिल्लो १० महिनाको अवधिमै बैंकहरूले निक्षेपको ब्याजदर साढे ४ प्रतिशतसम्म घटाएका छन् भने औसतमै साढे २ प्रतिशतले घटेको छ । जसको सकारात्मक प्रभाव बेसरेटमा देखिएको हो ।
हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये एनआइसी एसयिा बाहेक अरु सबै बैंकको बेसरेट ९ प्रतिशतभन्दा तल झरेको छ । जसमा ९ बैंकको औसतभन्दा पनि कम रहेको छ । अझ ६ बैंकको बेसरेट ८ प्रतिशतभन्दा कम छ ।
२० बैंकमध्ये १९ वटाले चाहेमा १० प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा दिन सक्ने भएका छन् ।बेसरेट ९ प्रतिशतभन्दा तल रहेकाले चाहेमा न्यूनतम १ प्रतिशत मात्रै प्रिमियम जोडर एकल अंकको ब्याजदरमै ऋण दिन सक्ने भएका हुन् । यद्यपि, बैंकहरूले चाहेमा १ प्रतिशतभन्दा कम प्रिमियममा पनि ऋण दिन सक्छन् ।
९ प्रतिशत माथि बेसरेट रहेको एनआइसीले भने चाहेर पनि एकल अंकको ब्इाजदरमा ऋण दिन सक्दैनन् । विगतमा महँगोमा निक्षेप उठाएकाले एनआइसीको बेसरेट धेरै घट्न नसकेको हो ।
बैंकहरूले गत कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाएकाले अहिले आधारदर (बेसरेट) एकल अंकमा झरेको हो । बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम) थुप्रिएपछि बैंकहरूले १० महिना यता निरन्तर निक्षेपको ब्याजदर घटाउँदै आएका छन् ।

विगतमा तरलता अभावका कारण बैंकहरूले निक्षेपको ब्याजदर नै १२ प्रतिशतसम्म पुर्याएका थिए । जसकारण बैंकहरूको औसत बेसरेट नै दोहोरो अंकका पुगेको थियो । तर, चालु आव सुरू भएदेखि नै बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ । अहिले बैंकमा करिब साढे ६ खर्ब बढी पैसा थुप्रिएको छ । एकोहोरो निक्षेप बढिरहने तर कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् ।
साथै, नेपाल राष्ट्र बैंकले समेत नीतिगत दरहरू घटाउँदा बैंकहरूलाई ब्याजदर घटाउन सहयोग पुगेको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले बैंकदर ७.५ प्रतिशतबाट ७ प्रतिशत, नीतिगत दर ६.५ प्रतिशतबाट ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दर ४.५ प्रतिशतबाट ३ प्रतिशतमा झारेको थियो ।
बैंकहरूले आफ्नो लागत अनुसार आधारदर तय गर्छन् । आधारदरमा आएको फेरबदल अनुसार कर्जाको ब्याजदर पनि फरक पर्छ । विगतमा १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अहिले अधिकतम १२÷१३ प्रतिशतमा झरेको छ ।
कुन बैंकबाट पाइन्छ सस्तोमा ऋण ?
कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ भन्ने कुरा बैंकहरूको बेसरेटमा भर पर्दछ तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।
अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् । यद्यपि, ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर ब्याजदर सस्तो र महँगो तय गर्छ ।
हाल विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा सस्तोमा ऋण दिन सक्छ । यस बैंकको बेसरेट ६.३६ प्रतिशत छ । यो हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तो हो । चार्टर्डले बेसरेटमा न्यूनतम १ प्रतिशत प्रिमियम जोडेर न्यूनतम ७.३६ प्रतिशतमै ऋण दिन सक्छ । बैंकले बेसरेटमा ५ प्रतिशत प्रिमियम जोडेर पनि अधिकतम् ११ प्रतिशतमै ऋण दिन सक्छ ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य, नेपाल, नबिल, एभरेष्ट र सानिमा बैंकले पनि न्यूनतम १ प्रतिशत प्रिमियम जोडेर ९ प्रतिशतभन्दा कम ब्याजमै कर्जा दिन सक्छन् । यी बैंकको बेसरेट ८ प्रतिशतभन्दा कम रहेको छ । असारसम्म राष्ट्रिय वाणिज्यको बेसरेट ७.०१ प्रतिशत, एभरेष्टको ७.५३ प्रतिशत, नबिलको ७.६३ प्रतिशत, सानिमाको ७.८३ प्रतिशत र नेपालको ७.८७ प्रतिशत रहेको छ ।
त्यस्तै, हाल १३ बैंकको बेसरेट ८ देखि ९ प्रतिशतको बीचमा रहेको छ । जसमा नेपाल इन्भेष्टमेन्ट मेगा ८.०३ प्रतिशत, ग्लोबल आइएमई ८.०९ प्रतिशत, सिद्धार्थ ८.११ प्रतिशत, कृषि विकास ८.१८ प्रतिशत, प्रभु ८.२ प्रतिशत, माछापुच्छ्रे ८.२६ प्रतिशत, नेपाल एसबीआई ८.३ प्रतिशत, एनएमबी ८.४२ प्रतिशत, सिटिजन्स ८.५७ प्रतिशत, लक्ष्मी सनराइज ८.७ प्रतितश, कुमारी ८.८९ प्रतिशत र हिमालयनको ८.९१ प्रतिशत रहेको छ । यी बैंकले १ प्रतिशत प्रिमियम जोडर १० प्रतिशतभन्दा कममै ऋण दिन सक्छन् ।