बैंकिङ क्षेत्रका समस्या र चुनौती समाधान गर्न पहल गर्ने अर्थमन्त्रीकाे आश्वासन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पौडेलले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन र समग्र बैंकिङ क्षेत्रका समस्या एवं चुनौतीको समाधान र अपेक्षाको सम्बोधन गर्न सरकारले आवश्यक पहलकदमी लिने बताएका छन् ।

बुधबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)को टोलीसँग भेटवार्ता गर्दै उनले यस्तो बताएका हुन् । भेटघाटमा अर्थतन्त्रमा समसामयिक विषयहरूमा छलफल भएको थियो ।

अर्थमन्त्री पौडेलले सीबीफिन टोलीबाट प्राप्त सुझाव ग्रहण गरी सृदृढ एवं आत्मनिर्भर अर्थतन्त्र र समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको अभियानमा सहकार्यका लागि आग्रह गरे ।

उनले सुशासन, विकास र राजनीतिक स्थायित्व कायम गर्दै अर्थतन्त्र तथा आर्थिक गतिविधिलाई चलायमान बनाउने र आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहन गर्ने सरकारको प्रमुख प्राथमिकता भएको धारणा राख्दै अर्थमन्त्री पौडेलले बैंकिङ क्षेत्रको विश्वास एवं छविमाथि हानी हुने र बैंकिङ गतिविधि सञ्चालनमा असर पुर्याउने कुनै गतिविधि सरकारलाई क्षम्य नहुने बताए ।

अर्थतन्त्रको आधार स्तम्भका रुपमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको संरक्षण, स्थायित्व र दिगो विकासका लागि मौजुदा तथा प्रस्तावित बाफियाका प्रावधान सरोकारवाला सबैलाई मान्य हुने गरी सुधार गरिने प्रतिवद्धता उनले जनाए ।

लगानी एवम् व्यवसायमैत्री वातावरण बन्न नसक्दा कर्जा विस्तारमा व्यापक सङ्कुचन आएको, वित्तीय संस्थाको खराब कर्जा एवं जोखिमपूर्ण सम्पत्तिमा उल्लेखनीय रुपमा वृद्धि भएको, पूँजीकोषमा दबाब परेको, बैंक तथा वित्तीय संस्थाका विरुद्ध अफवाह फैलाउने र कर्जा नतिर्न गरिएका दुरुत्साहन निरुत्साहित हुन नसकेकोलगायतका विषय सीबीफिनले उठाएको थियो ।

प्रस्तावित बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया)का केही नीतिगत प्रावधानहरूले बैंकिङ लगानीकर्तामा व्यापक नैराश्यता पैदा गराएको र क्रमशः यस क्षेत्रबाट लगानीकर्ता र कर्मचारीसमेत पलायन हुने क्रम बढेकोप्रति सीबीफिनले अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको छ ।

समग्र आर्थिक एवं बैंकिङ क्षेत्रमा खस्केको मनोबल र गुमेको आत्मविश्वासलाई उच्च बनाउँदै दिगो आर्थिक एवं बैंकिङ विकासका पहलकदमीहरू अवलम्बन हुने विश्वास सीबीफिनले व्यक्त गरेको छ ।

पूँजी निर्माण एवं परिचालन, लगानी विस्तार, रोजगारी सिर्जना, सामाजिक रुपान्तरण र राजस्वमा उल्लेख्य योगदान पुर्याउँदै आएको बैंकिङ क्षेत्रको मुनाफा ऋणात्मक हुँदै जानु गम्भीर समस्या रहेको सीबीफिनको धारणा थियो ।

बैंक तथा वित्तीय संस्थाको नाफा खुम्चिँदा लाखौँ लगानीकर्ताहरूको जीवन गुजारामा मात्र असर नपुगी स्वयं सरकारको राजस्व लक्ष्यमासमेत गम्भीर असर परेको विषयप्रति संवेदनशील भइदिन अर्थमन्त्री समक्ष सीबीफिनले आग्रह गरेको छ ।

महासंघद्धारा स्याहार अर्थतन्त्र बारे रोजगारदाता तालिम प्रदान Read Previous

महासंघद्धारा स्याहार अर्थतन्त्र बारे रोजगारदाता तालिम प्रदान

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव Read Next

विद्युतीय व्यापार विधेयकमा १९ वटा संशोधन प्रस्ताव