यात्री ।
अर्थात, निर्दिष्ट गन्तव्यमा पुग्न निश्चित बाटो तय गरेर हिँडेको एक मानिस ।
गन्तव्य – आफ्नै देशमा गुणस्तरिय र निर्यात योग्य दुईपाङ्ग्रे सवारी बनाउने ।
बाटो – कल्पनाशिलता, उन्नत स्तरको प्रबिधिक क्षमता र कडा परिश्रम ।
अनी यात्रीको नाम – असिम पाण्डे, उमेर ३०
आफु अथक यात्री भएकाले नै होला आफ्नो उत्पादनमा पनि आफ्नै छायाँ देखे उनले । र, राखे पहिलो पटक नेपालीले नै डिजाइन गरेको र नेपालमै जडान गरिएको पूर्ण रुपमा नेपाली ब्राण्डको रुपमा रहेको इलेल्ट्रीक मोटरसाइकलको नाम पनि ‘यात्री’ ।
‘मैले इन्जिनियरिङ गर्न सुरु गरेसँगै यूरोपको कुनै टप डिजाइन फर्ममा गएर काम गर्ने लक्ष्य बनाएको थिए । बीएमडब्ल्यू, आउडी, मर्सिडिजजस्ता गाडीको डिजाइन गर्ने वेष्ट डिजाइन स्टुडियोमा काम गर्ने लक्ष्य थियो ।
आज (बिहिबार) यात्री मोटरसाइकल सार्वजनिक हुने पहिलो दिन, जसलाई सन् २०२० जुन÷जुलाईबाट बिक्री सुरु गर्ने योजना बुनेका छन्, असिमले ।
शुरुमा ५० युनिट मोटरसाइकल बनाएर बजारमा ल्याउने योजना छ कम्पनीको । ‘मेरो नजिकको नातामा रहनु भएका निकोलस पाण्डेसँग लगानी सम्झौता भएको छ । उहाँले यसमा रुची देखाएर लगानी गर्नु भएको छ । ‘प्रोटोटाइप’ देखि सुरुवाति ५० यूनिट मोटरसाइकलसम्मको लागि उहाँहरुसँग सम्झौँता भएको छ । त्यसपछि कसरी अगाडि जाने भन्ने विषयमा छलफल भएको छैन । संभवत आजको ‘लञ्चिङ’ पछि यस विषयमा थप कुरा हुन्छ होला’, असिम बताउँछन् ।
असिमको सवारी साधनहरुसँग सानैदेखि आकर्षण बढेको रहेछ । उमेर बढ्दै जाँदा त्यो आकर्षण ‘जुनुन’मा परिर्वतन भयो । अनी अहिले पेशा र सपना पनि ।
असिमको बुवा निर्माण व्यवसायमा थिए । तर, उनलाई भने निर्माण लगायत अन्य कुनै व्यवसाय गर्ने सोच थिएन ।
‘सानै देखि मोटरसाइकल र गाडीसँग धेरै लगाव थियो । त्यसैले पछि कुनै डिजाइन हाउसमा काम गर्छु भन्ने सोच भने थियो’ असिम भन्छन्, ‘म त ६–७ कक्षामा पढ्दा नै गाडी र मोटरसाइकल दुवै चलाउँथे’, उनले सुनाए ।
उमेरसँगै दुई पाङ्ग्रे सवारीप्रति झुकाव बढ्दै गयो । कुनै समय त उनलाई आफु मोटरसाइकल डिजाइन गर्नकै लागि जन्मिएको हुँ जस्तो लग्थ्यो रे ।
‘मैले इन्जिनियरिङ गर्न सुरु गरेसँगै यूरोपको कुनै टप डिजाइन फर्ममा गएर काम गर्ने लक्ष्य बनाएको थिए । बीएमडब्ल्यू, आउडी, मर्सिडिजजस्ता गाडीको डिजाइन गर्ने वेष्ट डिजाइन स्टुडियोमा काम गर्ने लक्ष्य थियो । आफैँ नेतृत्व गरेर अहिले यो स्तरको काम गर्नु पर्छ भन्ने कहिल्यै सोचेको थिइन’ असिमले चाणक्य पोष्टसँग भने ।
आफ्नो जुनुन पछ्याउँदै यूरोपमा हुने एकदमै ठूलो प्रतिस्पर्धा फर्मुला वानमा प्रतिस्पर्धा गरे उनले । त्यहाँ विद्यार्थीहरुले एक वर्षसम्म लगाएर तयार गरेको आफ्नो डिजाइनलाई प्रतिस्पर्धामा उतार्ने गर्छन् । त्यसमा करिब २ वर्ष बसेर उनले आफ्नो क्षमता बढाउने अवसर पाए ।
उनका अनुसार डेल्थ यूनिर्भसिटी उक्त प्रतिस्पर्धामा उत्कृष्ट बन्न सफल भएको थियो । त्यसरी त्यहाँ २ वर्ष काम गरेपछि डिजाइन, प्रडक्ट र रेस सबै कुराको जानकारी भएको र धेरै कुरा सिकेको उनी बताउँछन् ।
त्यसपछि मास्टर्स पढ्दा नेदरल्यान्डको डंकोहुट कम्पनीमा काम गरे, जसले ‘हाइपर कार’हरु बनाउने गर्छ । अउडी र डंकोहुट कम्पनी मिलेर ‘लाईट वेट’ हाइपरकार बनाउने गर्छन् ।
अनावश्यक जटिलताहरु थपियो’, असिमले आफ्नो अनुभव सुनाए, ‘हामीले आफैँ डिजाइन गरेर सामान ल्याउनु पर्ने भएकाले भन्सारमा ‘एग्जीमकोड’ लगायतका विषयमा धेरै झमेला भयो । नयाँ उद्यमीलाई सहजीकरण गर्ने काममा कन्जुसाई गरेको देखियो ।
यहाँ काम गरिसकेपछि भने उनको आत्मविश्वास ह्वात्तै बढ्यो । उनकाे नशा–नशामा उद्यमशिलताको ‘किटाणु’ले संक्रमण ग¥यो । त्यसपछि आफ्नै देशमा फर्कने र सवारी डिजाइन र उत्पादनको क्षेत्रमा काम गर्ने योजनाका साथ ४–५ सना साथीहरु मिलेर छलफल गर्न थाले । सन् २०१७ को सेप्टेम्बरमा नेपाल आए र डिसेम्बरमा कम्पनी स्थापना गरे । र, मोटरसाइकलको कन्सेप्टहरु बनाउन शुरु गरे ।
उद्यमशिलताको किटाणु अत्यन्तै खतरनाक किटाणु हो । यसले आफ्नो स्वरुप परिर्वतन गरिबस्छ । उद्यमी सफल भएमा यसले माहुरीको रुप लिन्छ । मह काढ्छ सबैलाई बाँढ्छ । सबै हाँसीखुसी हुन्छन् । तर, उद्यमी असफल भए यसले किर्नाको रुप धारण गर्छ र उद्यमीको रगत चुस्छ । र, चुसेरै सिध्याउँछ ।
उद्यमशिलताको किटाणु बोकेर नेपाल आएका असिमलाई यहाँ काम गर्न पक्कै पछि सजिलो भएन । हुने पनि छैन ।
उनलाई शुरुमा नेपाली सरकारी संयन्त्रसँग काम गर्न सजिलै लाग्यो । बाहिर हल्ला भए जस्तो कठिन लागेन ।
‘तर, पछि काम गर्दै जाँदा एउटै कामको लागि १० ठाउँमा जानु पर्यो । धेरै गाह्रो भयो । अनावश्यक जटिलताहरु थपियो’, असिमले आफ्नो अनुभव सुनाए, ‘हामीले आफैँ डिजाइन गरेर सामान ल्याउनु पर्ने भएकाले भन्सारमा ‘एग्जीमकोड’ लगायतका विषयमा धेरै झमेला भयो । नयाँ उद्यमीलाई सहजीकरण गर्ने काममा कन्जुसाई गरेको देखियो ।’
अहिले असिमसँग ६–७ जनाको टिम छ । साथीहरु प्रतिभावान र सज्जन भएको उनको अनुभव छ । उनीहरुको टिममा नेपालमै पढेका युवाहरु पनि छन् । उनीहरु सोचेभन्दा बढि नै क्षमतावान् भएको उनको अनुभव छ ।
अटो व्यवसाय निकै जटिल व्यवसाय हो । यहाँ उन्नत स्तरको प्राबिधिक क्षमताको अलावा ठूलो लगानीको पनि खाँचो पर्छ । अहिले उनीहरु सन् २०२५ सम्म आफ्नो व्यवसायीक अवस्थिति कस्तो होला भनेर घोत्लिन्छन् ।
उनलाई मुख्य समस्या भने वित्तिय व्यवस्थापनको रह्यो । अलिअलि आफ्नै बचतबाट शुरु गरेको कामले व्यवसायी निकोलस पाण्डेको साथले थोरै गति लिएको छ । अबको वित्तिय व्यवस्थापनको गोरेटो भने कोर्न बाँकी नै छ ।
अटो व्यवसाय निकै जटिल व्यवसाय हो । यहाँ उन्नत स्तरको प्राबिधिक क्षमताको अलावा ठूलो लगानीको पनि खाँचो पर्छ । अहिले उनीहरु सन् २०२५ सम्म आफ्नो व्यवसायीक अवस्थिति कस्तो होला भनेर घोत्लिन्छन् । सन् २०२२ देखि बार्षिक केही हजार युनिट मोटरसाइकल नेपाली बजारमा बेच्ने योजना बताउँछन् र पुलकित हुन्छन् ।
उनीहरुलाई लाग्छ उनीहरुको उत्पादन नेपाली बजारमा मात्र होइन विश्व बजारमा नै एउटा ‘बेन्चमार्क’ कायम गर्ने किसिमको छ ।
‘नेपालमा सामान्यत काम चल्छ भन्ने सोचाईबाट उत्पादनहरु बनाउने र ल्याउने चलनको साटो उत्कृष्ट उत्पादन बनाउने र कुनै किसिमको सम्झौता नगरी हामी यो मोटरसाइकल उत्पादन गर्दैछौं । यसले बजारमा ४०० सीसी सेग्मेन्टका मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ’ असिम भन्छन् ।