आक्रमक रूपमा सेयर किन्दै लगानीकर्ता, १ घण्टामै साढे ४ अर्बको कारोबार

काठमाडौं । सेयर लगानीकर्ता सेयर खरिदमा आक्रमक बनेका छन् । पछिल्लो समय सेयर बजारले लय समात्ने संकेत देखिएसँगै लगानीकर्ता धमाधम सेयर किन्न थालेका हुन् ।

लगानीकर्ताले दैनिक अर्बौंको सेयर किन्न थालेका छन् । गत साता मात्रै ५३ अर्बको सेयर खरिद बिक्री भएको थियो । बिहीबार एकैदिन १५ अर्ब रुपैयाँ बढीके सेयर किनबेच भएको थियो ।

त्यस्तै, आज बजार खुलेको १ घण्टामै झण्डै साढे ४ अर्बको सेयर किनबेच भएको छ । नेप्सेका अनुसार मध्याह्न १२ बजेसम्म ४ अर्ब ३८ करोड रुपैयाँको १ करोड ११ लाख कित्ता सेयर किनबेच भएको छ । यस समयसम्म नेप्से परिसूचक अंकले बढेर ३७ अंकले बढेर २४६१ बिन्दुमा पुगेको छ ।

गत असार १७ गतेदेखि लगातार उकालो लागेको नेप्से तीन साताको अवधिमा झण्डै ४०० अंकले बढिसकेको छ । घट्दो ब्याजदर, अधिक तरलता रहेको अवस्थामा राजनीतिक स्थिरता छाउने देखिएपछि लगानीकर्ता आक्रमक रुपमा सेयर खरिद गर्न थालेको हुन् ।

असार ३० गते संसदमा दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमले मिलेरनयाँ सरकार बनाएका छन् । सरकारको अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आएका छन् ।

पौडेल सेयर बजारमैत्री अर्थमन्त्रीमा रुपमा चिनिन्छन् । यसअघि दुईपटक नेप्सेले अल टाइम हाइको रेकर्ड बनाउँदा पौडल नै अर्थमन्त्री थिए । पौडेलको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग ट्युनिङ मिल्ने भएकाले चालु आवको मौद्रिक नीतिमा सेयर धितो कर्जामा लगाइएको सीमा हटाउने हल्ला चलेको छ ।

कात्तिकदेखि बैंकहरूले लगातार ब्याजदर घटाइरहेका छन् । अहिले बैंकको औसत बेसरेट नै ८ प्रतिशतमा झरिसकेको छ । एकल अंकमै कर्जा पाउने अवस्था छ । त्यस्तै, बैंकिङ प्रणालीमा अधिक तरलता छ । अर्थतन्त्रका सूचकमा पनि लगातार सुधार आइरहेको छ ।

सुधारोन्मुख अर्थतन्त्रका सूचक, खुकुलो मौद्रिक नीति आउने अनुमान र राजनीतिक स्थिरता छाउने आशामा लगानीकर्ता धमाधम सेयर किन्न थालेका छन् ।

जापानी कम्पनी योकोहामाको टायर नेपाली बजारमा Read Previous

जापानी कम्पनी योकोहामाको टायर नेपाली बजारमा

दुई सिफ्टमा ओपीडी संचालन गर्न स्वास्थ्यमन्त्रीको निर्देशन Read Next

दुई सिफ्टमा ओपीडी संचालन गर्न स्वास्थ्यमन्त्रीको निर्देशन