दुई सिफ्टमा ओपीडी संचालन गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुलाई बहिरंग सेवा (ओपीडी) दुई सिफ्टमा संचालन गर्न निर्देशन दिएका छन् ।

मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरूसँग छलफलपछि उनले दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्ने लगायतका ९ बुँदे निर्देशन जारी गरेका हुन् ।

उक्त निर्देशनहरू कार्यान्वयनमा ल्याउन मन्त्रालयले अस्पताल र प्रतिष्ठानहरूलाई परिपत्र समेत गरिसकेको छ ।सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशनमा भनिएको छ ।

त्यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न भनिएको छ ।

त्यसैगरी, अस्पतालका कुन सेवा कुन ठाउँमा छ सबैले देख्ने गरी टाँस्नुपर्ने वा स्वयंसेवक परिचालन गर्नुपर्ने र सोधपुछ, सहायता कक्ष, गुनासो सुन्ने व्यवस्था, पिउने पानी र सफा शौचालयको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

यस्तै, अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने, सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन अस्पताल प्रमुखद्वारा विभागीय प्रमुख एवं अन्यलाई सम्बन्धित अधिकार प्रत्यायोजन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

आक्रमक रूपमा सेयर किन्दै लगानीकर्ता, १ घण्टामै साढे ४ अर्बको कारोबार Read Previous

आक्रमक रूपमा सेयर किन्दै लगानीकर्ता, १ घण्टामै साढे ४ अर्बको कारोबार

एनआइसी एशिया बैंक २७ औं वर्षमा प्रवेश Read Next

एनआइसी एशिया बैंक २७ औं वर्षमा प्रवेश