काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण झण्डै साढे २४ खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्ममा मुलुकको कुल ऋण २४ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ पुगेको हो ।
जसमा आन्तरिकभन्दा विदेशी ऋणको हिस्सा धेरै भएको छ । कार्यालयका अनुसार आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोड र बाह्यऋण १२ खर्ब ५२ अर्ब ३३ करोड रुपैयाँ बराबर रहेको छ ।
२०८० असार मसान्तमा कुल सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ रहेकोमा २०८१ असार मसान्त आइपुग्दा बढेर २४ खर्ब ३३ अर्ब २३ करोड रुपैयाँ पुगेको हो । यो मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)को ४२.६५ प्रतिशत हो । गत आवमा मात्रै १ खर्ब ३४ अर्ब ६८ करोड रुपैयाँ नयाँ ऋण थपिएको छ ।
नेपालको कुल ऋणलाई प्रतिव्यक्ति दायित्व भाग लगाउँदा एक व्यक्तिको टाउकोमा ८३ हजार ४३१ रुपैयाँ भार पुगेको हो । यद्यपि, सार्वजनिक ऋण नागरिकले प्रत्यक्ष तिर्नुपर्दैन । तर, सरकारले नागरिकले तिरेकै करबाट राज्यले दायित्व भुक्तानी गर्छ ।
एक वर्षमा उठायो ३ खर्ब ५८ अर्ब
सरकारले गत आर्थिक वर्षमा मात्रै ३ खर्ब ५८ अर्ब २ करोड ९५ लाख रुपैयाँ ऋण उठाएको छ । गत आर्थिक वर्षका लागि सरकारले कुल ४ खर्ब ५२ अर्ब ७५ करोड बराबर ऋण उठाउने लक्ष्य राखेकोमा लक्ष्यको ७९.०८ प्रतिशत मात्रै उठाएको हो ।
गत वर्ष २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएकोमा २ खर्ब ३४ अर्ब ४२ करोड उठाइएको छ । यो लक्ष्यको ९७.६८ प्रतिशत हो ।
त्यस्तै, २ खर्ब १२ अर्ब ७५ करोड बाह्य ऋण उठाउने लक्ष्य राखिएकोमा १ खर्ब २३ अर्ब ६० करोड अर्थात् लक्ष्यको ५८.१० प्रतिशत मात्रै लिएको छ ।
तिर्यो ३ खर्ब ५ अर्ब
गत वर्ष कुल ३ खर्ब ५८ अर्ब रुपैयाँ ऋण उठाएको सरकारले साँवा ब्याज भुक्तानीमा ३ खर्ब ५ अर्ब ३७ करोड रुपैयाँ खर्च गरेको छ । ऋण तिर्नका लागि ३ खर्ब ३० अर्ब बजेट विनियोजन भएकोमा ९२.५४ प्रतिशत खर्च भएको हो ।
गत वर्ष सरकारले २ खर्ब २३ अर्ब रुपैयाँ साँवा र ८२ अर्ब रुपैयाँ ब्याज तिरेको छ । जसमा आन्तरिकतर्फ १ खर्ब ८२ अर्ब साँवा र ७२ अर्ब ७६ करोड ब्याज तिरेको छ । त्यस्तै, बाह्यतर्फ ४० अर्ब साँवा र ९ अर्ब २९ करोड रुपैयाँ ब्याज तिरेको छ ।