काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक सूचीकृत कम्पनीको सेयर मूल्यले ५२ हजार रुपैयाँ बढीको कीर्तिमान बनाएको छ ।
उत्पानमूलक कम्पनी युनिलिभर नेपालको सेयर मूल्य प्रतिकित्ता झण्डै ५३ हजार रुपैयाँ माथि पुग्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेमा सूचीकृत कुनै पनि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५० हजार रुपैयाँ नाघेको यो इतिहासमै पहिलोपटक हो ।
बिहीबार (दिउँसो १:३० बजेसम्म) इन्ट्राडेमा युनिलिभरको सेयर मूल्य प्रतिकित्ता ४ हजार २०४ रुपैयाँले बढ्दै ५२ हजार ९९९ रुपैयाँ पुगेको छ ।
युनिलिभर नेपाली सेयर बजारमा सूचीकृत २७० कम्पनीमध्ये सबैभन्दा महँगो सेयर मूल्य हुने कम्पनी हो । पछिल्लो २ वर्ष यता कम्पनीको सेयर मूल्यमा लगातार बढिरहेको छ । यस अवधिमै यसको सेयर मूल्य झण्डै तेब्बरले बढेको छ । २०७९ साउनमा प्रतिकित्ता १८ हजार हाराहारीमा रहेको कम्पनीको सेयर मूल्य आज ५३ हजार नजिक पुगेको हो ।
कम्पनीको व्यापारमा सुधार आई वित्तीय अवस्था आकर्षक बनेकाले लगानीकर्ता यसको सेयरमा आकर्षित भएका हुन् । युनिलिभर नेपाली कम्पनीमध्ये सर्वाधिक लाभांश दिने कम्पनी पनि हो । गत वर्षको नाफाबाट कम्पनीले प्रतिसेयर १५८० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
यस्तो छ वित्तीय अवस्था
कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को तेस्रोे त्रैमाससम्म ४८ करोड ६१ रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै ११ करोड रुपैयाँ बढी हो । अघिल्लो वर्षको चैतसम्म कम्पनीले ३७ करोड २६ लाख लाख रुपैयाँ नाफा कमाएको थियो ।
उत्पादन बिक्री आम्दानी बढ्दा र खर्च घट्दा कम्पनीको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २.२६ प्रतिशतले बढेर २ अर्ब ६ करोड रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड रुपैयाँ आम्दानी गरेको थियो।
यस अवधिमा कम्पनीले खर्च ६.११ करोडले घटाउन सफल भएको छ । गत वर्ष तेस्रो त्रैमासमा १ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको खर्च यस वर्ष घटेर १ अर्ब ४५ करोड रुपैयाँमा झारेको छ ।
हाल ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ४ अर्ब २६ करोड रुपैयाँ संचित छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१५२ रुपैयाँबाट बढेर वार्षिक २२०२ रुपैयाँ पुगेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ३ हजार १६२ रुपैयाँ छ ।