काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीयम संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा ३६.४७ प्रतिशतले बढेको छ ।
लघुवित्तले गत असार मसान्तसम्म १४ करोड ६६ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ करोड ९२ लाख रुपैयाँ बढी हो । आव २०७९/८० को असारसम्म लघुवित्तले १० करोड ७४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी घटे पनि संचालन नाफा बढ्दा र इम्पेयरमेन्ट चार्ज रिभर्स हुँदा नाफामा वृद्धि भएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १५.२२ प्रतिशत घटेर २४ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ । यस अवधिमा सञ्चालन नाफा भने ३५.१२ प्रतिशत बढेर २० करोड ९४ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तले साढे ६५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स गरेको छ ।
समीक्षा अवधिमा लघुवित्तले ५ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन तथा सापटी लिई ६ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल ९४ करोड ४३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ६ करोड ७६ लाख र जगेडा कोषमा १६ करोड ३७ लाख रुपैयाँ सञ्चित छ।
लघुवित्तको वितरणयोग्य मुनाफामा ६ करोड ७६ लाख रुपैयाँ छ । यसबाट ७.१६ प्रतिशतसम्म लाभांश दिने क्षमता राख्दछ ।
नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १२.३६ रुपैयाँबाट बढेर १५.५३ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १२४.५० रुपैयाँ रहेको छ । यस अवधिमा खराबकर्जा दोब्बरभन्दा धेरैले बढेर ३.३१ प्रतिशत पुगेका छ।