महँगिँदै सेयरको भाउ, यी १३ कम्पनीको मात्र पाइन्छ २०० रुपैयाँभन्दा कममा

काठमाडौं । सेयर बजारमा २०० रुपैयाँभन्दा कम मूल्यमा सेयर पाइन छाडेको छ । दुई साता अघि ३ दर्जन बढी कम्पनीको सेयर मूल्य २०० रुपैयाँभन्दा कम रहेकोमा अहिले १ दर्जन कम्पनीको मात्रै सस्तोमा किन्न पाइने भएको हो ।

झण्डै ३ वर्षदेखि बियरिस ट्रेन्डमा रहेको नेप्से गत असार १६ गतेदेखि लगातार बढिरहेको छ । दुई सातामै नेप्से परिसूचक २७३ अंकले बढेको छ । ३ वर्षको बीचमा नेप्सेले ४ पटक २२०० बिन्दु छोए पनि त्योभन्दा माथि जान सकेको थिएन । तर, यसपटक २२०० को मनोवैज्ञानिक विन्दुको प्रतरोधलाई तोड्दै मंगलबार २३१० बिन्दुमा पुगेको छ । आगामी दिनमा नेप्सले गति लिने लगानीकर्ताको आशा छ ।

गत असार १७ गते संसदमा दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमति गरेका थिए । त्यसँगै अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेल आउने हल्लासँगै नेप्से उचालिएको थियो । सहमति अनुसार नै पौडेल अर्थमन्त्रीमा नियुक्त भएपछि मंगलबार एकैदिन नेप्सेले ७० अंकको छलाङ हानेको छ ।

पौडेल सेयर बजारमैत्री अर्थमन्त्रीमा रुपमा चिनिन्छन् । यसअघि दुईपटक नेप्सेले अल टाइम हाइको रेकर्ड बनाउँदा पौडल नै अर्थमन्त्री थिए । पौडेलको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग ट्युनिङ मिल्ने भएकाले चालु आवको मौद्रिक नीतिमा सेयर धितो कर्जामा लगाइएको सीमा हटाउने हल्ला चलेको छ ।

कात्तिकदेखि बैंकहरूले लगातार ब्याजदर घटाइरहेका छन् । अहिले बैंकको औसत बेसरेट नै ८ प्रतिशतमा झरिसकेको छ । एकल अंकमै कर्जा पाउने अवस्था छ । त्यस्तै, बैंकिङ प्रणालीमा अधिक तरलता छ । अर्थतन्त्रका सूचकमा पनि लगातार सुधार आइरहेको छ ।

सुधारोन्मुख अर्थतन्त्रका सूचक, खुकुलो मौद्रिक नीति आउने अनुमान र राजनीतिक स्थिरता छाउने आशामा लगानीकर्ता धमाधम सेयर किन्न थालेका छन् । जसकारण अधिकांश कम्पनीको सेयर मूल्य महँगिन थालेको हो । ३ वर्ष वियरिस ट्रेन्डमा रहेको नेप्सेले अब क्रमशः बुल रन समाउने लगानीकर्ताको अपेक्षा छ । जसकारण अहिले दैनिक कारोबार बढेर ९ अर्बसम्म पुगेको छ ।

यी हुन् अझै २०० रुपैयाँ कममा पाइने कम्पनी

हाल नेप्सेमा २७० कम्पनी (म्युचुअल फण्ड र डिबेन्चर बाहेक) सूचीकृत छन् । तीमध्ये ५ प्रतिशत अर्थात् १३ कम्पनीको मात्रै सेयर मूल्य २०० रुपैयाँभन्दा तल छ । सस्ता सेयर मूल्य भएका १३ कम्पनीमध्ये ४ वटा वाणिज्य बैंक, ८ वटा हाइड्रोपावर र एउटा लगानी समूहको कम्पनी रहेका छन् ।

नेप्सेमा १९ वटा वाणिज्य बैंक सूचीकृत छन् । तीमध्ये ४ बैंकको सेयर मूल्य अझै २०० भन्दा कम छ । दुई साताअघि १ दर्जन बढी वाणिज्य बैंकको सेयर मूल्य २०० रुपैयाँभन्दा कम थियो ।

नेप्सेका अनुसार बैंकहरू मध्ये कुमारीको सेयर मूल्य सबैभन्दा सस्तो प्रतिकित्ता १५९.४ रुपैयाँ छ । कुमारी नेप्सेमा सूचीकृत कम्पनी मध्ये सबैभन्दा सस्तो सेयर मूल्य हुने कम्पनी समेत हो ।

त्यसैगरी, सस्ता सेयर मूल्य भएका वाणिज्य बैंकहरूमा क्रमशः प्रभु प्रतिकित्ता १७०.५ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा १७८ र लक्ष्मी सनराइज १८१ रुपैयाँ रहेको छ ।

त्यस्तै, नेप्सेमा सूचीकृत ९१ हाइड्रोपावरमध्ये ८ कम्पनीको मात्रै सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ । जसमा हिमाल दोलखाको सबैभन्दा सस्तो प्रतिकित्ता १५९.९ रुपैयाँ छ । त्यसैगरी, आँखुखोला १६२.८ रुपैयाँ, नेशनल हाइड्रो १७५ रुपैयाँ, घलेम्दी १८१ रुपैयाँ, अपर तामाकोशी १८६.७ रुपैयाँ, सिंगटी हाइड्रोपावर १८८.६ रुपैयाँ, शिव श्री हाड्रोपावर १९२ रुपैया र अरुण भ्याली हाइड्रोपावरको १९५.६ रुपैयाँ छ ।

त्यस्तै, लगानी समूहको हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको पनि सेयर मूल्य २०० रुपैयाँभन्दा कम अर्थात् १९१.६ रुपैयाँमा किन्न पाइन्छ ।

काठमाडौं महानगरले तयार पार्‍यो १२५ सहरी योजनाको डीपीआर, लागत पौने २ अर्ब Read Previous

काठमाडौं महानगरले तयार पार्‍यो १२५ सहरी योजनाको डीपीआर, लागत पौने २ अर्ब

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको डेढ लाख पुग्यो Read Next

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको डेढ लाख पुग्यो