काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी साउन १ गते बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्य बढेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः १६८ रुपैयाँ ५० पैसा, १७० र १७१ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ र १६० रुपैयाँ कायम भएको छ ।
पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल रहेका छन् ।
इण्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ४८ पैसा र डिजेलमा २ रुपैयाँ ८३ पैसाले बढेर आएकाले स्थानीय बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
डिपो/कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलिम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने निगमले जनाएको छ ।