काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । गत साता ८४ अंकले बढेको नेप्से यस साता पहिलो दिनमै हाफ सेञ्चुरीको छलाङ हानेको हो ।
काँग्रेस र एमाले मिलेर नयाँ सरकार गठन प्रक्रिया अघि बढाएसँगै लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उछाल आएको हो । नयाँ सरकारको अर्थमन्त्रीमा एमालेका विष्णु पौडेल आउने लगभग निश्चित जस्तै छ ।
सेयर बजारमैत्री अर्थमन्त्रीमा रुपमा चिनिएका पौडेल फेरि आउने भएसँगै लगानीकर्ता आशावादी बनेका हुन् ।यसअघि नेप्सेले दुई पटक अल टाइम हाइको रेकर्ड बनाउँदा अर्थमन्त्री पौडेल नै थिए ।
साथै, घट्दो बजार, अधिक तरलता, अर्थतन्त्रमा आएको सुधारले पनि लगानीकर्ताकाे कन्फिडेन्स बढ्दै जाँदा नेप्सेले पनि गति लिँदै गएको हो ।
आइतबार नेप्से परिसूचक ५२.८७ अंकले बढेर २२५७.५९ बिन्दुमा पुगेको छ । यो २०७९ वैशाख यताकै उच्च बिन्दु हो ।
सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । आज ७ अर्ब ६२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको हो । यो पछिल्लो ६ महिना यताकै उच्च कारोबार हो ।
आज ३०९ कम्पनीको २ करोड २० लाख ४७ हजार ३२७ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको परिसूचक सर्वाधिक ३.७४ प्रतिशतले बढेको छ । त्यस्तै, हाइड्रोपावर समूहको परिसूचक पनि ३.३० प्रतिशतले बढेको छ ।
आज जानकी फाइनान्स सर्वाधिक कारोबार भएको छ । यसको २४ करोड २७ लाख रुपैयाँ बढीको ३ लाख २७ हजार ३४३ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका मध्ये २०१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३६ कम्पनीको मात्रै घटेको छ ।
उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिडी पावर र माण्डू हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, जानकी फाइनान्स र हिमाल दोलखा हाइड्रोपावरका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।