‘राज्यले ६० अर्ब भुक्तानी नदिँदा निर्माण उद्योग बन्द हुने अवस्था आयो’ 

काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन चार दिन बाँकी रहँदा आफूहरूले  राज्यबाट ६० अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताएका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिँदै भुक्तानीको अविलम्ब व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको अर्बौं रकम भुक्तानी नहुँदा ‘आपूर्ति चक्र’ नै अस्तव्यस्त भई निर्माणसँग सम्बन्धित उद्योगहरू नै बन्द हुने स्थिति उत्पन्न भएको बताए ।

‘बैंकको किस्ता र अन्य कर तिर्न नसकी हजारौं व्यवसायी मात्र प्रताडित भएका छैनन्, उनीहरूमा आश्रित उद्योग तथा परिवारमा  मनोवैज्ञानिक दबाब परेको छ,’ अध्यक्ष सिंहले भने ।

आर्थिक वर्षको अन्त्यमा  स्रोत सुनिश्चिता नभई ठेक्का लगाएकाले रकमान्तर गर्न नसकिने जनाउ अर्थ मन्त्रालयले  दिएका कारण हजारौं व्यवसायी प्रभावित भएका उनले बताए ।

यही २०८१ असार मसान्तसम्ममा सबै रकम भुक्तानी नदिए बाध्य भएर आन्दोलन गर्नुको कुनै विकल्प नभएको उनले बताए । विभिन्न जिल्लाका आफ्ना सहकर्मी आन्दोलनमा उत्रिएका जानकारी दिँदै उनले त्यस्तो परिस्थिति ननिम्तियोस् भन्नेमा आफूहरू रहेको अध्यक्ष सिंहले बताए ।

साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट कारोबार हुने Read Previous

साधना र सबैको लघुवित्तको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट कारोबार हुने

नगरकोट-कुन्ताबेँसी सडकमा मालबाहक गाडी संचालनमा रोक Read Next

नगरकोट-कुन्ताबेँसी सडकमा मालबाहक गाडी संचालनमा रोक