काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन दोहोरो अंकको वृद्धि भएको छ । मंगलबारदेखि लगातार उकालो लागेको नेप्से आज २९ अंकले बढेको हो ।
बिहीबार नेप्से परिसूचक २९.२१ अंकले बढेर २२०४ बिन्दुमा पुगेको छ । यो पछिल्लो १ वर्ष यताकै उच्च बिन्दु हो ।
सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ३४ करोड करोड रुपैयाँ बढेर ७ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यो ६ महिना यताकै उच्च छ ।
आज ३३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये माइक्रोफाइनान्स र व्यापार बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । जीवन बीमा समूहको सूचक सर्वाधिक ३.०६ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकिङ समूह २.४२ प्रतिशतले बढेको छ ।
आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १५ करोड २५ लाख रुपैयाँ बढीको १ लाख ३४ हजार ८७ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका मध्ये १५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ कम्पनीको घटेको छ ।
बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बलेफी हाइड्रोपावर र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यसैगरी, एनआइबीएल स्टेबल फण्ड ९.८३ प्रतिशत, जानकी फाइनान्स ८.७६ प्रतिशत र प्रभु महालक्ष्मी लाइफको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।
आज समाज लघुवित्तका सेयरधनीले भने सर्वाधिक ४.५९ प्रतिशत गुमाएका छन् ।