काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व रहेको सेयर ब्रोकर कम्पनी आरबीबी सेक्युरिटिजले व्यावसायिक कारोबार सुरु गरेको छ ।
आरबीबी सेक्युरिटिजले २६ असार बुधबारदेखि व्यावसायिक कारोबार सुरु गरेको हो ।
सीमित कारोबार गर्ने गरी इजाजत लिएको कम्पनीले धितोपत्र दलालको रुपमा ग्राहकलाई उच्चस्तरीय ब्रोकरेज सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।
कम्पनीको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २०८० साउने ३२ गते स्वीकृति पाएको थियो ।
त्यस्तै, २०८० माघ ३ गते नेपाल स्टक एक्सचेन्जबाट सेयर ब्रोकर ९७ नम्बरबाट कारोबार अनुमति पाएको थियो । कम्पनीलाई सीडीएस एन्ड क्लियरिङले २३ माघ २०८० मा राफसाफ सदस्यता पाएको थियो ।
कम्पनीले प्रारम्भिक चरणमा ग्राहकलाई धितोपत्र कारोबार सेवा प्रदान गर्ने जनाएको छ । भविष्यमा नियामक निकायबाट अनुमति प्राप्त गरी मार्जिन, थोक कारोबार तथा अन्य पूँजीबजार सम्बन्धी सेवाहरू प्रदान लक्ष्य लिएको छ ।