रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्थगित, यस्तो छ कारण

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सकाे प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन प्रक्रिया रोकिएको छ ।

संघीय संसदको सार्वजनिक लेखा समितिको पत्रपछि नेपाल धितोपत्र बोर्डले कम्पनीको आइपीओ निष्काशन प्रक्रिया स्थगन गरेको हो ।

कम्पनीले भोलिदेखि वैदेशिक रोजगारीमा गएका नेपालीका लागि प्रतिकित्ता ८२०.८० रुपैयाँ दरले १ लाख १५ हजार ५९६ कित्ता आइपीओ निष्काशन गर्दै थियो । कम्पनीको आइपीओ महँगो र शंकास्पद भएको भन्दै चौतर्फी विरोध भएको भइरहेको थियो ।

यसैबीच, मंगलबार लेखा समितिले रिलायन्सको वित्तीय विवरण र आइपीओ निष्काशनबारे जवाफ मागेपछि बोर्ड सञ्चालक समितिले हाललाई रिलायन्सको आइपीओ निष्काशन रोक्ने निर्णय गरेको हो ।

लेखाले रिलायन्सको आइपीओमा ५ वटा प्रश्न उठाउँदै बोर्डलाई ७ दिनभित्र जवाफ पेश गर्न पत्र काटेको थियो । त्यसको भोलिपल्टै बोर्डले आइपीओ निष्काशन प्रक्रिया जारी गरेको हो ।

कम्पनीले आइपीओ स्वीकृति पाउनु अघि र हालै सार्वजनिक गरेको वित्तीय विवरणमा ‘आकाश-पाताल’को फरक परेको छ । शंकास्पद वित्तीय विवरण देखाइ जनतालाई महँगोमा सेयर भीडाउन खोजेको भन्दै समितिले जवाफ माग्दै पत्र काटेको हो ।

‘गत आर्थिक वर्षमा प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँ रहेको कम्पनीले उल्लेख गरेको थियो, तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २.०८ रुपैयाँमा सीमित भएको छ । यसअघि वित्तीय विवरण तयार गर्दा म्यानुपुलेसन भएको अनुमान गर्न किन नसकिने ?,’ लेखा समितिको प्रश्न छ ।

कम्पनीले आइपीओ स्वीकृत लिनुअघि वित्तीय विवरण आकर्षक बनाउन नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने दायित्व समेत देखाएको थिएन । कम्पनीले प्राधिकरणलाई ७५ करोड ३६ लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । महशुल नतिरेपछि प्राधिकरणले मंगलबारदेखि कम्पनीको बिजुली लाइन काटेको छ ।

त्यस्तै, समितिले बुक बिल्डिङका लागि बिड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकसँग स्वार्थ बाझिएको छ/छैन भनेर जवाफ माग गरेको छ ।

त्यसैगरी, संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए भन्ने विवरण समेत मागेको छ ।संस्थागत लगानीकर्ताको कम्पनीको सेयर प्रतिकित्ता ९१२ रुपैयाँमा किनेका थिए ।

अब बोर्डले जवाफ पठाएपछि समितिले कम्पनीको आइपीओ प्रक्रिया बारे थप निर्णय गर्नेछ ।

साउन १ गतेदेखि नै निजामती कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चको आदेश Read Previous

साउन १ गतेदेखि नै निजामती कर्मचारीको तलब समायोजन गर्न सर्वोच्चको आदेश

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुने धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुने धेरै मूल्य बढ्ने कम्पनी