काठमाडौं । देशको सबैभन्दाठूलो स्थानीय निकाय काठमाडौं महानगरपालिकाको पूँजीगत खर्च भने दयनीय रहेको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ मा महानगरले पूँजीगत खर्च ४२.३५ प्रतिशत रहेको छ । यद्यपि, यो पछिल्लो ४ वर्ष यताकै धेरै हो ।
महानगरले आव २०७७/७८ मा २१.३ प्रतिशत, २०७८/७९ मा २९.४ प्रतिशत र २०७९/८० मा २५.९ प्रतिशत पूँजीगत खर्च भएको थियो।
त्यस्तै, महानगरले चालु आवका लागि छुट्याइएको बजेट आधा मात्रै खर्च गर्न सकेको छ । महानगरले २४ अर्ब २० करोड रूपैयाँ बजेट विनियोजन गरेकोमा १२ अर्ब ३५ करोड रुपैयाँ मात्रै खर्च गरेको छ ।
पछिल्लो ५ वर्षमा यस वर्ष सबैभन्दा धेरै बजेट खर्च भएको हो । योजना र कार्यक्रमहरू प्राथमिकीकरण गरेका कारण विगतको वर्षको तुलनामा यस वर्ष खर्चमा प्रगति हासिल भएको महानगरले जनाएको छ ।
महानगरले आर्थिक वर्ष २०७६/७७ मा विनियोजित बजेटको ४९.७ प्रतिशत खर्च गरेको थियो। त्यसैगरी, वर्ष २०७७/७८ मा ३६.७ प्रतिशत, २०७८/७९ मा ४४.३ प्रतिशत र २०७९/८० मा ४०.२ प्रतिशत कुल खर्च भएको थियो।