काठमाडौं । सरकारले ढुवानी सेवा प्रदायक सवारीसाधनलाई अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान) लिन ताकेता गरेको छ ।
आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै ढुवानी साधन (ट्रक, टिपर र ट्याक्टर) धनीहरूलाई यथाशीघ्र प्यान नम्बर लिन भनेको हो ।
आयकर ऐनको व्यवस्था अनुसार ढुवानीका सवारीसाधनले पनि अनिवार्य प्यान लिनुपर्ने व्यवस्था छ । अझै केही सवारीधनीले प्यान नलिएकाले यथाशीघ्र यस्तो नम्बर लिएर मात्र कारोबार गर्न विभागले ताकेका गरेको हो ।
(ढुवानीका साधन (ट्रक, टिप्पर, ट्रक्टरआदी)को धनी स्वयम्ले ढुवानी व्यवसाय संचालन गरेका केही व्यवसायी र ढुवानीका साधनधनी स्वयम्ले ढुवानी व्यवसाय संचालन नगरी अर्को व्यक्ति वा संस्थालाई भाडामा उपलब्ध गराउने गरेका केही ढुवानी साधनका धनीहरूले हालसम्म पनि स्थायी लेखा नम्बर नलिएको भन्ने जानकारी यस विभागमा पप्त हुन आएकोले यशाशीघ्र स्थायी लेखा नम्बर लिई कारोबार गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ विभागद्धारा जारी सूचनामा भनिएको छ ।
स्वयम् सवारीसाधन चलाइरहेका वा अर्को व्यक्ति वा संस्थालाई भाडामा चलाउन दिएका व्यक्तिले समेत प्यानमा दर्ता हुनुपर्ने विभागले स्पष्ट पारेको छ ।
कानुन उल्लंघन गरी प्यान नलिएको पाइएमा कारबाही गर्ने चेतावनी समेत विभागले दिएको छ ।