काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा चार्टर्ड हेलिकोप्टर उडान तथा अवतरणमा रोक लगाएको छ ।
सुरक्षा जोखिमलाई मध्येनजर गर्दै प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ८ किलोमिटर वरपरको क्षेत्रका होटल तथा अस्पतालमा चार्टर्ड हेलिकोप्टर उडानमा रोक लगाएको हो ।
त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडान उडान व्यवस्थापनमा काठमाडौं टावरमा रहने एयर ट्राफिक कन्ट्रोलरलाई उडान सुरक्षा चुनौती कायमै भएकाले चार्टर्ड हेलिकोप्टर उडानमा रोक लगाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार काठमाडौंमा जहाज उड्ने र अवतरण गर्ने रुटमा पर्ने चन्द्रागिरि, लाकुरीभन्ज्याङ, गौशाला आसपासका क्षेत्रमा पर्ने होटल तथा अस्पतालका हेलिप्याडमा चार्टर्ड उडान अवतरणमा रोक लागाइएको हो ।
तर, यी क्षेत्रमा आकस्मिक रूपमा हुने उद्धार, बिरामी सेवासम्बन्धी उडानलाई भने रोक नलगाइएको प्राधिकरणले जनाएको छ ।
त्रिभुवन विमानस्थलको हवाइ चाप घटाउने योजनासहित प्राधिकरणले गत असार ७ गतेदेखि भक्तपुरको नलिञ्चोकमा हेलिप्याड संचालनमा ल्याएको छ ।
उक्त हेलिप्याड भक्तपुरको सूर्यविनायक नगरपालिका-१० नलिञ्चोकमा करिब ३३ रोपनी क्षेत्रफलमा बनेको छ । हेलिप्याडमा १७ वटा हेलिकप्टर पार्किङ गर्न मिल्ने क्षमता छ । एकपटकमा ४ टेक अफरल्यान्डिङ गर्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।