काठमाडौं । सेयर बजारमा लगातार पाँचौं दिन वृद्धि भएको छ । गत सोमबारदेखि लगातार उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ५ कारोबार दिनमै नेप्से १०४ अंकले बढेको छ ।
आइतबार नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ बिन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकम पनि उत्साहजनक रहेको छ । आज ३२५ कम्पनीको १ करोड ४० लाख १४ हजार ६२२ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये १० समूहको परिसूचक बढेको छ भने ३ को घटेको छ । होटल समूहको परिसूचक सर्वाधिक २.९६ प्रतिशतले बढेको छ भने फाइनान्स २.०७ प्रतिशतले घटेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड ७१ लाख रुपैयाँ बढीको २ लाख ९५ हजार २५९ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका मध्ये १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ कम्पनीको घटेको छ ।
बढ्दोे बजारमा आज सीईडीबी हाइड्रोपावरका सेयरधनीले सर्वाधिक ५.२५ प्रतिशत कमाएका छन् । त्यसैगरी, नेशनल लघुवित्त, फरवार्ड लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।
दोहोरो अंकले बढेको बजारमा माथिल्लो मैलुङ खोला जलविद्युत्का सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।