एआई पेटेन्ट दर्तामा चीन विश्वकै अग्रणी, अमेरिकाको भन्दा ६ गुणा धेरै

जेनेभा । अत्याधुनिक जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (जेनएआई) को प्रयोगबाट गरिएका आविष्कारहरूको अन्तर्राष्ट्रिय पेटेन्ट दर्तामा चीन अग्रणी रहेसँगै यसको सङ्ख्या ६ वर्षमा ८ गुणाले बढेको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ ।

सन् २०२३ सम्मको दशकमा जेनएआई आविष्कारका लागि कुल ५४ हजार पेटेन्ट दर्ता गरिएको राष्ट्रसङ्घीय विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्ल्यूआइपीओ) ले आफ्नो नयाँ प्रतिवेदनमा जनाएको छ । तीमध्ये २५ प्रतिशत गत वर्ष मात्रै दर्ता गरिएको थियो ।

कथित जेएनएआई जसमा प्रशिक्षित कम्प्युटर प्रोग्रामहरूले सरल तरिकाले सेकेन्डभरमा भिडियो, सङ्गीतदेखि कम्प्युटर कोडसम्म सबै कुरा सिर्जना गर्दछ र यो प्रविधिको क्षेत्रमा ठूलो उपलब्धि रहेको डब्ल्यूआइपीओका प्रमुख डारेन टाङले बताए ।

जेनएआई पेटेन्टले अझै पनि विश्वव्यापी रूपमा सम्पूर्ण एआई पेटेन्टको ६ प्रतिशत मात्र प्रतिनिधित्व गर्दछ तर यसको सङ्ख्या द्रुत गतिमा बढिरहेको छ ।

डब्ल्यूआइपीओका अनुसार जेएनएआई पेटेन्टहरू सन् २०१७ पछि आठ गुणाले बढेका छन् । ‘यो एउटा उदीयमान क्षेत्र हो,’ डब्ल्यूआइपीओका पेटेन्ट एनालिटिक्स प्रबन्धक क्रिस्टोफर ह्यारिसनले जेनेभामा पत्रकारहरूलाई भने ।

यो प्रविधिले च्याटजीपीटी र गुगलको जेमिनी जस्ता च्याटबोटहरूको विकाससहित औद्योगिक र उत्पादनको दायरालाई फराकिलो बनाइरहेको छ ।

यसले औषधिहरूको विकासका लागि नयाँ अणुहरू पत्ता लगाउनुका साथै नयाँ उत्पादनको विकास सक्षम पार्ने जस्ता काम पनि गर्नसक्छ ।

डब्ल्यूआइपीओको प्रतिवेदनले अहिलेसम्म अधिकांश जेएनएआई पेटेन्ट चीनबाट दायर गरिएको थियो भनी निर्धारण गरेको छ । सन् २०१४ देखि २०२३ को बीचमा चीनबाट ३८ हजारभन्दा बढी जेएनएआई आविष्कार दर्ता भएको प्रतिवेदनले देखाएको छ ।

यो संयुक्त राज्य अमेरिकाभन्दा ६ गुणाले बढी हो । अमेरिकामा ६ हजार २७६ पेटेन्ट दर्ता भएसँगै दोस्रो स्थानमा रहेको छ ।

दक्षिण कोरियामा ४ हजार १५५ र जापान ३ हजार ४०९ जेनएआई पेटेन्ट दर्ता हुने तेस्रो स्थानमा रहेको छ ।

१ हजार ३५० जेनएआई पेटेन्टहरू दर्ता गरिएको भारतमा ५६ प्रतिशतको उच्चतम औसत वार्षिक वृद्धि दर देखिएको डब्ल्यूआइपीओले जनाएको छ ।

जेएनएआईका अधिकांश शीर्ष आवेदक चिनियाँ आविष्कार रहेका छन् । जसमा टेनसेन्ट शीर्षमा छ, त्यसपछि पिङ एन इन्स्युरेन्स, बाइदु र चाइनिज एकेडेमी अफ साइन्सेज छन् ।

त्यसैगरी, आइबीएम पाँचौँ स्थानमा रहेको देखिन्छ । चीनको अलिबाबा, दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्स र गुगलको मूल कम्पनी अल्फाबेट, चिनियाँ कम्पनी बाइटडान्स रहेको शीर्ष १० को सूचीमा माइक्रोसफ्टले अन्तिम स्थान लिएको छ ।

डब्ल्यूआइपीओको प्रतिवेदनले अणु, जिन र प्रोटिनमा आधारित तथ्याङ्क प्रयोग गरेर जेएनएआई पेटेन्टहरू तीव्र गतिमा बढिरहेको पनि पत्ता लगाएको छ । सन् २०१४ देखि करिब एक हजार पाँच सय आविष्कारको पेटेन्ट दर्ता भएको यसको विगत पाँच वर्षमा औसत ७८ प्रतिशतले वार्षिक वृद्धि भएको प्रतिवेदनले जनाएको छ ।

भन्सार छलेर ल्याइएको ११ करोडको सामान बरामद Read Previous

भन्सार छलेर ल्याइएको ११ करोडको सामान बरामद

पहिरो पीडितलाई पैसा बाँडेको भन्दै ललितपुरका मेयर चिरीबाबुलाई अख्तियारले काट्यो पत्र Read Next

पहिरो पीडितलाई पैसा बाँडेको भन्दै ललितपुरका मेयर चिरीबाबुलाई अख्तियारले काट्यो पत्र