मुलुक ऋणको पासोमा पर्दैन, ऋण उठाएको मात्रै होइन तिर्दै पनि आएको छौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुक सार्वजनिक ऋणको पासोमा पर्ने सम्भावना नरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै सरकारले सार्वजनिक ऋण उठाउने मात्र नभएर उल्लेख्य रकम सावाँ भुक्तानी बापत तिर्दै आएको बताएका हुन् ।

उनले सरकारको ऋण तिर्ने क्षमतामा समेत सुधार हुँदै गएको बताएका छन् । ‘बाह्य ऋणको सावाँ र ब्याज भुक्तानी गर्दा विदेशी मुद्रामा तिर्नुपर्ने हुन्छ। मुलुकको विदेशी विनिमय सञ्चिति पर्याप्त रहेकोले विदेशी मुद्रामा सावाँ ब्याज भुक्तानी गर्न समेत कुनै समस्या रहेको छैन,’ उनले भने ।

उनले ऋणको लागत र जोखिमको दृष्टिकोणबाट एवं नेपाल जस्तै अन्य मुलुकको सार्वजनिक ऋणको तुलनामा मुलुकको सार्वजनिक ऋण सुविधाजनक अवस्थामा रहेको बताए । हालसम्मको सार्वजनिक ऋणको परिमाण र लागतलाई दृष्टिगत गर्दा मुलुक ऋणको पासोमा पर्ने सम्भावना नरहेको उनको भनाइ छ ।

सार्वजनिक ऋण परिचालन गर्दा ऋणको दिगोपना कायम गर्ने तर्फ सरकार संवेदनशील रहेको छ। साथै, सार्वजनिक ऋणलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्दै जानेतर्फ समेत सरकार सचेत रहेको उनले बताए ।

‘सरकारले प्राप्त गर्दै आएको बाह्य ऋण सहुलियतपूर्ण र दीर्घकालीन प्रकृतिको रहेको हुँदा ऋणको लागत तुलनात्मकरुपमा न्यून रहेको छ। सरकारले हरेक वर्ष बजेट मार्फत वैदेशिक ऋणको सावाँ र ब्याज भुक्तानीका लागि पर्याप्त रकम विनियोजन गर्दै आएको छ। यस्तो रकम सरकारले उठाउने राजस्व र अन्य आयबाट भुक्तानी हुने गरेको छ,’ उनले भने ।

सरकारले विभिन्न ऋणपत्रको निष्काशन मार्फत आन्तरिक ऋण परिचालन गर्दै आएको उनले बताए । आन्तरिक ऋणको सावाँ र ब्याज भुक्तानीका लागि समेत सरकारले हरेक वर्ष बजेट मार्फत पर्याप्त रकम विनियोजन गर्दै आएको छ। यस्तो रकम समेत सरकारले उठाउने राजस्व र अन्य आयबाट भुक्तानी हुने गरेको उनले बताए ।

उनले चालु आवमा सरकारको ऋण ९८ अर्ब रुपैयाँ बढेको जानकारी दिए । ‘२०८० असारमसान्तमा सरकारको तिर्न बाँकी सार्वजनिक ऋण रु. २२ खर्ब ९९ अर्ब ३५ करोड रहेकोमा चालु आर्थिक वर्षको वैशाखसम्म १० महिनाको अवधिमा रु.९८ अर्ब ८ करोड थप भई २०८१ वैशाखमसान्तमा रु.२३ खर्ब ९७ अर्ब पुगेको छ,’ उनले भने, ‘कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सरकारको तिर्न बाँकी यस्तो ऋण ४२.०२ प्रतिशत रहेको छ। तिर्न बाँकी सार्वजनिक ऋण मध्ये आन्तरिक ऋण रु.११ खर्ब ८४ अर्ब ४८ करोड (४९.४ प्रतिशत) र बाह्य ऋण रु. १२ खर्ब १२ अर्ब ९५ करोड (५०.६ प्रतिशत) रहेको छ।’

उनले चालु आर्थिक वर्षको वैशाखसम्म सरकारले आन्तरिक ऋणतर्फ रु. १ खर्ब ९१ अर्ब र बाह्य ऋणतर्फ रु. ७३ अर्ब ६३ करोड ३६ लाख गरी जम्मा रु. २ खर्ब ६४ अर्ब ६३ करोड ३६ लाख सार्वजनिक ऋण परिचालन गरेको जानकारी दिए ।

यस अवधिमा सरकारले आन्तरिक ऋण तर्फ रु. १ खर्ब ३५ अर्ब ६२ करोड ३३ लाख र बाह्य ऋण तर्फ रु. ३० अर्ब ९३ करोड ११ लाख गरी जम्मा रु. १ खर्ब ६६ अर्ब ५५ करोड ४४ लाख सावाँ भुक्तानी गरेको उनले बताए ।

चालु आर्थिक वर्षको वैशाखसम्म सरकारले आन्तरिक ऋणतर्फ रु. ५९ अर्ब ५ करोड ७१ लाख र बाह्य ऋणतर्फ रु. ७ अर्ब ६६ करोड ३५ लाख गरी जम्मा रु. ६६ अर्ब ७२ करोड ६ लाख ब्याज भुक्तानी गरेको छ। यस अवधिमा सरकारको ऋण सेवा खर्च (सावाँ र ब्याज) जम्मा रु.२ खर्ब ३३ अर्ब २७ करोड ५० लाख रहेको छ।

प्रभु बैंकले संचालनमा ल्यायो 'बिजनेश डेबिट कार्ड', यस्ता छन् फाइदा Read Previous

प्रभु बैंकले संचालनमा ल्यायो 'बिजनेश डेबिट कार्ड', यस्ता छन् फाइदा

धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द विरुद्ध सर्वोच्वमा रिट Read Next

धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द विरुद्ध सर्वोच्वमा रिट