थप ४ लघुवित्तको सेयर कारोबार रोक्का, अब नयाँ नामबाट कारोबार हुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत थप चार लघुवित्तको सेयर कारोबार रोक्का भएको छ ।

एकआपसमा मर्ज भई असारभित्रै एकीकृत कारोबार गर्न लागेका साधना लघुवित्त र सबैको लघुवित्तको तथा मनकामना स्मार्ट र समता घरेलु लघुवित्तको सेयर काराबार रोक्का भएको हो ।

साधना र सबैकाे मर्ज भई असार २७ गतेदेखि ‘सम्पदा लघुवित्त वित्तीय संस्था’को नामबाट एकीकृत कारोबार सुरु गर्नेछन् । यी दुई लघुवित्तलाई एक आपसमा गाभिन राष्ट्र बैंकले जेठ २९ गते अन्तिम स्वीकृति दिएको हो ।

दुई लघुवित्त बीच वैशाख १२ गते मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो भने गत भदौ १५ गते प्रारम्भिक सम्झौता गरेका थिए ।

साधना र सबैकाे समान हैसियत अर्थात १ः१ सेयर अनुपातमा मर्ज हुन लागेका हुन् । हाल साधनाको चुक्ता पूँजी ३८ करोड २२ लाख रुपैयाँ र सबैको लघुवित्तको ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । मर्जरपछि एकीकृत चुक्ता पूँजी ७० करोड ८ लाख रुपैयाँ पुग्नेछ ।

त्यसैगरी, समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभेर असार २४ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । अब दुवै लघुवित्तले ‘समता घरेलु लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार गर्नेछन् ।

दुवै लघुवित्तलाई एक आपसमा गाभिन नेपाल राष्ट्र बैंकले जेठ २९ गते अनुमति दिएको थियो । त्यस्तै, कम्पनी रजिष्ट्रार कार्यालयले असार ११ गते अन्तिम स्वीकृति दिएको थियो ।

हाल समताको चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार र मनकामनाको १४ करोड ८४ लाख ७८ हजार रुपैयाँ रहेको छ ।

यसअघि नेप्सेले मर्जर प्रक्रियामा रहेका किसान र जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का गरेको थियो ।

५ वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य, भाउ प्रतिक्रेट ४९५ रुपैयाँ पुग्यो Read Previous

५ वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य, भाउ प्रतिक्रेट ४९५ रुपैयाँ पुग्यो

पुल्चोकको लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ Read Next

पुल्चोकको लालीगुराँस सहकारीका अध्यक्षसहित चार जना पक्राउ