३ हजार मेगावाट बिजुली प्रवाह गर्ने कर्णाली करिडोर प्रसारण लाइन निर्माण सुरू

सांकेतिक तस्वीर

काठमाडौं । कर्णाली करिडोर ४०० केभी प्रसारण लाइन निर्माण सुरू भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आज कैलालीको सुख्खडमा प्रसारण लाइनको शिलान्यास गरेका हुन् ।

कर्णाली करिडोर (फुकोट–बेतन–दोदोधारा) ४०० केभी प्रसारण लाइन आयोजनाको टावर निर्माणको शिलान्यास गरिएको हो ।कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष तथा सदस्य, मन्त्रालयका सहसचिव, कैलालीका जनप्रतिनिधिलगायत स्थानीय निकायका प्रमुख एवं प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद ज्ञवालीका अनुसार, फुकोट–कर्णाली, बेतन–कर्णाली, तिला एक र दुईलगायतका आयोजनाबाट उत्पादित करिब ३ हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध गर्न सकिनेछ ।

मुलुकको विद्युत मागलाई सम्बोधन गर्ने र विद्युत् निर्यात गर्ने लक्ष्यसहित सरकारी स्वामित्वको उक्त कम्पनीबाट निर्माण हुन लागेको डबल सर्किट प्रसारण लाइन राष्ट्रिय रुपान्तरणकारी आयोजनाका रुपमा रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको ‘प्रसारण हाइवे’का रुपमा रहेको यस आयोजनाको निर्माणबाट सुदूरपश्चिमका अन्य पूरक पूर्वाधारको विकास भई समग्र देशको विद्युत् विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

कुल १२५ किलोमिटर लामो प्रसारण लाइन आयोजना कर्णाली प्रदेशको कालीकोट रेङ्गिलबाट सुरू भई अछाम, सुर्खेत हुँदै कैलालीको दोदोधारा सबस्टेशनमा जोडिने छ । त्यहाँबाट पूर्वतर्फ बुटवल, पश्चिममा अत्तरिया एवं दैजी र दक्षिणतर्फ अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बरेलीमा जोडिने छ । त्यसमा २५६ वटा टावर रहने छन् । उक्त प्रसारण लाइन आयोजनामा दक्षिण एसियाकै लामोमध्येको करिब १ हजार ३५० मिटर लामो नदी पार गराउनुपर्ने छ । त्यसमा करिब १२० मिटर अग्ला दुई वटा टावर निर्माण गर्नुपर्ने छ ।

आयोजना प्रबन्धक बिकेन बज्राचार्यका अनुसार प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी कलपत्रु प्रोजेक्ट इन्टरनेशनल लिमिटेडसँग गत वर्ष ठेक्का सम्झौता भएको हो । आयोजनाको कुल लागत ८ अर्ब रूपैयाँ बराबर छ । आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन, इञ्जिनियरिङलगायत टावर परीक्षणका काम सम्पन्न भइसकेका छन् । आयोजना निर्माण सुपरीवेक्षणका लागि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनियरिङ कम्पनीलाई नियुक्त गरिएको छ । टावर निर्माणका लागि कालीकोट, सुर्खेत, अछाम र कैलालीमा जग्गा अधिग्रहणको काम भइरहेको आयोजना प्रबन्धक बज्राचार्यले जानकारी दिए ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली नदी बेसिनमा उत्पादन हुने विद्युत् जम्मा गरी स्वदेश तथा विदेशी बजारमा पुर्याउने लक्ष्यका साथ आयोजना सुरू गरिएको बताए ।    कर्णाली र सुदूरपश्चिम प्रदेशको पूर्वाधार विकासको मुख्य सम्वाहक रहेको उल्लेख गर्दै उनले राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले निर्माण गर्न लागेको यो आयोजनाले ह्विलिङ चार्ज (प्रसारण शुल्क) मार्फत आफ्नो आयसमेत पहिचान गरेको उल्लेख गरे ।

कम्पनीको आयमा आत्मनिर्भर हुनेगरी तयार गरिएको मोडालिटीको ऊर्जामन्त्री बस्नेतले सराहना गरे । भेरी र सेती करिडोर ४०० केभी प्रसारण लाइन आयोजनासमेत निकट भविष्यमा निर्माण थालनी गर्न लागिएको जानकारी दिँदै मन्त्री बस्नेतले सकेसम्म कम वातावरणीय क्षति हुने सरकारको उद्देश्य अनुसार कार्य अगाडि बढाइने बताए ।

‘सरकारले साझा प्रसारण लाइन निर्माण गर्न सहजीकरणका लागि नीतिगत सुधार गरिरहेको र प्रसारण लाइनको क्षेत्राधिकारभित्र पर्ने जग्गाहरुको क्षतिपूर्ति निर्धारण गर्दा स्थानीयलाई उत्प्रेरित गर्नेगरी निर्धारण गरिने छ,’ उनले भने,’सामाजिक सुरक्षा र उत्तरदायित्व अन्तर्गतका कार्यक्रमसमेतले स्थानीयलाई आयोजनाको अपनत्व लिन टेवा पुर्याउने छ ।’

ऊर्जामन्त्री बस्नेतले सरकार सम्पूर्ण सहयोग गर्न सरकार तयार रहेकाले समयमा नै आयोजना निर्माण सम्पन्न गर्न राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड तथा निर्माण व्यवसायीलाई आग्रह गरे ।

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ देखि एकीकृत कारोबार गर्ने Read Previous

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ देखि एकीकृत कारोबार गर्ने

३१ करोड बढी खर्चेर बनाइएका गण्डकीका ४ विमानस्थल प्रयोगविहीन Read Next

३१ करोड बढी खर्चेर बनाइएका गण्डकीका ४ विमानस्थल प्रयोगविहीन