काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई दोस्रो चरणमा सर्वसाधारणमा आइपीओ जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले सर्वसाधरणलाई प्रतिकित्ता ८२०.८० रुपैयाँ दरले ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँ बराबरको ११ लाख ५५ हजार ९६० कित्ता सेयर जारी गर्न अनुमति दिएको हो ।
रिलायन्सले यसअघि नै संस्थागत लगानीकर्तालाई आइपीओ जारी गरिसकेको छ । कम्पनीले गत माघमा संस्थागत लगानीकर्तालाई ७ लाख ७० हजार ६४० कित्ता सेयर जारी गरेको थियो । सो बेला कम्पनीको सेयरको कट अफ प्राइस ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यको १० प्रतिशत छुटमा अहिले सर्वसधारणले आवेदन दिन पाउने छन् ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशत बराबर कुल १९ लाख २६ हजार ६०० कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । जसमा ६० प्रतिशत सर्वसाधरण र ४० प्रतिशत संस्थागत लगानीकर्तालाई छुट्याइएको छ ।
आइपीओ भर्न ४१ हजार चाहिने
कम्पनीको आइपीओमा आवेदन दिन कम्तीमा ४१ हजार ४० रुपैयाँ चाहिने भएको छ । बुक बिल्डिङ विधिबाट जारी हुने आइपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । सो अनुसार प्रतिकित्ता ८२०.८० रुपैयाँले दरले ५० कित्ताका लागि आवेदन दिन ४१ हजार २० रुपैयाँ चाहिन्छ ।