विकास बैंकहरूमा ‘एनएफआरएस-९’ कार्यान्वयनको तयारी अन्तिम चरणमा

काठमाडौं । विकास बैंकहरूले ‘एनएफआरएस–९’ कार्यान्वयनको तयारी अन्तिम चरणमा पुर्याएका छन् ।

डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालमा आबद्ध १६ बैंक मध्ये अधिकांशले ‘एनएफआरएस-९’ कार्यान्वयनका लागि आवश्यक पर्ने ‘एनएफआरएस-९ इम्प्लिमेन्टेसन सोल्यूसन्स’ खरिद कार्य पूरा गरेका हुन् ।

उनीहरूले आपूर्तिकर्तासँग सम्झौता गरी कार्यान्वयन गर्ने आवश्यक कार्यको थालनी गरेका हुन् । हालसम्म एनएफआरएस-९ इम्प्लिमेन्टेसन सोल्यूसन्स खरिद नगरेका बैंकहरूले पनि असार मसान्तभित्रै प्रक्रिया पूरा गर्ने एशोसिएसनले जनाएको छ ।

एनएफआरएस-९ मा कर्जा जोखिम व्यवस्थापन गर्नका लागि अपनाइने विधि र कार्यलाई समेटिएकाले यसलाई कार्यान्वयन गर्दा अनुमानित कर्जा जोखिम र त्यसबाट हुन सक्ने नोक्सानीको गणना विवेकपूर्ण तरिकाले गरिन्छ ।

कर्जा चुक्ता नहुन सक्ने संभावना (प्रोब्याबिलिटी अफ् डिफल्ट), कर्जा चुक्ता नभएमा असुली हुन नसक्ने संभावित रकम (लस् गिभन् डिफल्ट), र कर्जा चुक्ता नहुन सक्ने सम्भाब्य रकम (एक्सपोजर एट डिफल्ट) लाई आधार बनाएर अनुमानित कर्जा नोक्सानीको (एक्सपेक्टेट क्रेडिट लस) गणना गरिन्छ ।

आव २०८१/८२ बाट एनएफआरएस-९ लागू हुने भएकाले वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र लघुवित्त सबैका लागि लागू हुने गरी नेपाल राष्ट्र बैंकले गत जेठ २ गते सो सम्बन्धी मार्गदर्शन (एक्सपेक्टेट क्रेडिट लस रिलेटेड गाइडलाइन्स, २०२४) जारी गरेको छ ।

एनएफआरएस-९ लागू गर्नका लागि डेभलपमेण्ट बैंकर्स एशोसियसन नेपालले यस अघि ‘ई एण्ड वाई’ श्रीलंकाबाट सहजकर्ता आमन्त्रण गरी आफ्ना सदस्य बैंकका उच्च कार्यकारी, सम्बन्धित विभागीय प्रमुख र कर्मचारीहरूलाई २ पटकसम्म ३ दिने तालिम कार्यक्रम संचालन गरेको थियो ।

‘एनएफआरएस-९ इम्प्लिमेन्टेसन सोल्यूसन्स’ खरिद गर्नका लागि संभावित आपूर्तिकर्ताको पहिचान गर्नका लागि एशोसिएसन अन्तर्गत रहेको वित्त उपसमिति, कार्यसमिति र सबै सदस्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको समेत बैठकले स्वदेशी तथा विदेशी फर्म÷कम्पनीहरूबाट प्रस्तुतिकरण गराइ अध्ययन गरिएको थियो । उक्त अध्ययनको निष्कर्ष सम्पूर्ण सदस्य बैंकहरूलाई सुझाव स्वरुप पठाइएको थियो ।

‘एनएफआरएस-९’ लाई पूर्णतया कार्यान्वयन गरेपछि संभावित कर्जा नोक्सानीको गणना र उक्त संभावित नोक्सानी खाम्नका लागि गरिने कर्जा नोक्सानी व्यवस्था थप यथार्थपरक हुने भएकाले सदस्य बैंकहरूलाई कर्जा जोखिम व्यवस्थापन गर्न थप सहज हुने विश्वास एशोसिएसनले लिएको छ ।

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट सवा ३ अर्ब ऋण लिँदै Read Previous

ग्लोबल आइएमई बैंकले ओपेक फण्डबाट सवा ३ अर्ब ऋण लिँदै

सोकोन ईसी ३६ भ्यान नेपाली बजारमा Read Next

सोकोन ईसी ३६ भ्यान नेपाली बजारमा