फाइनान्स समूहको परिसूचक ७ महिनामै ५९% बढ्यो, किन बढ्दै छ आकर्षण ?

काठमाडौं । सेयर बजार झण्डै ३ वर्ष यता बियरिस ट्रेन्डमा छ । २०७८ भदौमा सर्वाधिक ३१९८ बिन्दुको कीर्तिमान बनाएको नेप्से अहिले २०५० बिन्दु हाराहारीमा छ । यद्यपि, यसबीचमा नेप्से पटक पटक २२०० बिन्दु पुगे पनि त्यो भन्दा माथि जान सकेको छैन ।

नीतगत कडाइ र अर्थतन्त्रमा आएको शिथिलताका कारण सेयर बजारले गति लिन सकिएको छैन । तर, नेप्सेमा सूचीकृत १३ समहूमध्ये फाइनान्स समूहको परिसूचक भने साढे २ वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । समग्र सेयर बजारले गति लिन नसके पनि फाइनान्स समूहको परिसूचकले भने उचाइ लिँदै गएको छ ।

सोमबार फाइनान्स समूहको परिसूचक २५२१ बिन्दुमा पुगेको छ । यो २८ महिना अर्थात् २०७८ माघ यताकै उच्चतम विन्दु हो । पछिल्लो ७ महिनामा मात्रै फाइनान्स समूहको परिसूचक ५९ प्रतिशत अर्थात् ९३६ अंकले बढेको छ । गत मंसिर ५ गते १५८५ बिन्दुमा रहेको फाइनान्सको परिसूचक सोमबार २५२१ बिन्दुमा पुगेको हो ।

पछिल्लो समय प्रायः सर्वाधिक कारोबार हुने कम्पनीहरूमा फाइनान्स कम्पनीहरू अगाडि छन् । ७ महिनाकै अवधिमा फाइनान्स कम्पनीहरूको सेयर मूल्य औसतमा ६८.५० प्रतिशतले बढेको छ भने अधिकतम साढे ३ गुणासम्मले बढेको छ । जसमा नेपाल फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै २३८ प्रतिशतले बढेको छ । मंसिरमा प्रतिकित्ता २७८ रुपैयाँ रहेको नेपाल फाइनान्सको मूल्य ६६२ रुपैयाँ बढेर मंगलबार ९४० रुपैयाँ पुगेको छ ।

त्यस्तै, यस अवधिमा पोखरा फाइनान्स र मल्टिपर्पस फाइनान्सको मूल्य दोब्बरले बढेको छ । त्यस्तै, जानकी, समृद्धि र बेस्ट फाइनान्सको सेयर मूल्य ६७ प्रतिशतभन्दा धेरैले बढेको छ । अरु अधिकांश फाइनान्सको मूल्य पनि ५० प्रतिशतभन्दा धेरै बढेको छ । यस अवधिमा मञ्जुश्री फाइनान्सको मूल्य भने सबैभन्दा कम १० प्रतिशतले मात्र बढेको छ ।

किन बढ्दै छ फाइनान्सको सेयरमा आकर्षण ?

तुलनात्मक रुपमा फाइनान्स कम्पनीहरूको वित्तीय निकै कमजोर छ । चालु आवको चैत मसान्तसम्म सूचीकृत १५ मध्ये ८ कम्पनी घाटामा छन् । समग्रमा फाइनान्सहरू ३५ करोड ९९ लाख रुपैयाँ नोक्सानीमा छन् ।

त्यस्तै, यस अवधिमा फाइनान्स कम्पनीहरूको रिटेन्ड अर्निङ ३ अर्ब ९५ करोड रुपैयाँ ऋणात्मक छ । मञ्जुश्री र मल्टिपर्पस फाइनान्स बाहेक अरु सबैको रिटेन्ड अर्निङ ऋणात्मक छ । फाइनान्स कम्पनीको खराब कर्जा औसतमा ८.९९ प्रतिशत रहेको छ भने औसत प्रतिसेयर आम्दानी २.३७ रुपैयाँ ऋणात्मक छ ।

वित्तीय अवस्था र प्रतिफल दिन सक्ने क्षमता निकै कमजोर भए पनि फाइनान्सको सेयरमा लगानीकर्ताको उच्च आकर्ष देखिएको छ । यसको मुख्य कारण भने स्वार्थ समूहको चलखेल नै रहेको जानकारहरू बताउँछन् ।

नेप्सेमा १३ क्षेत्रका कम्पनी सूचीकृत छन् । बैंक, विकास बैंक, बीमा लगायत कम्पनीको तुलनामा फाइनान्सको सेयर संख्या निकै कम छ । फाइनान्सहरू लो क्यापिटल भएका कारण ठूला खेलाडीहरूले सजिलै चलखेल गरी मूल्य उचाल्ने र नाफा कमाउन सक्ने भएकाले आकर्षण बढाइएको हो ।

त्यस्तै, अन्य क्षेत्रका तुलनामा फाइनान्स कम्पनीको संख्या पनि कम छ । सेयर संख्या र कम्पनी कम हुँदा चलखेल गर्नलाई पनि सहज देखिन्छ । व्यवसाय वृद्धि भएकाले उच्च प्रतिफल पाउने आसमा भन्दा पनि छोटो समयमै चलखेल गरी नाफा कमाउन सक्ने भएकाले फाइनान्सको आकर्षण बढेको हो ।

यद्यपि, लहडको पछि लागेर सेयर कारोबार गर्दा धेरै जोखिम हुने भएकाले लगानीकर्ता स्वयम् सचेत हुनुपर्छ ।

अब व्यवसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने, ५ हजार जरिवाना हुने Read Previous

अब व्यवसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने, ५ हजार जरिवाना हुने

कोशी प्रदेश सरकारले २ करोड खर्चेर ट्रक पार्किङ स्थल बनाउने Read Next

कोशी प्रदेश सरकारले २ करोड खर्चेर ट्रक पार्किङ स्थल बनाउने