काठमाडौं । एनआइसी एशिया बैंकले असार मसान्त भित्र कर्जा भुक्तानी गर्ने ऋणीलाई छुट दिने भएको छ ।
बैंकले चैत मसान्तसम्म भाखा नाघेका ऋणीले असार भित्र चुक्ता गरेमा जरिवाना, हर्जनाका साथै ब्याजमा समेत छुट दिने भएको हो ।
बैंकका अनुसार असारभित्र ऋण चुक्ता गर्नेले हर्जना र जरिवानामा शतप्रतिशत छुट पाउने छन् । त्यस्तै, ९१ दिनदेखि १८० दिनसम्म भाखा नाघेको ऋणको ब्याजमा १५ प्रतिशत, १८१ दिनदेखि ३६५ दिनसम्मकोमा २५ प्रतिशत र ३६५ दिनभन्दा बढी भाखा नाघेको ऋणको ब्याजमा ३५ प्रतिशत छुट पाउने छन् ।
आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरूमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने उद्देश्यले हर्जना र ब्याजमा छुट दिइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने चालु पूँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा यो छुट लागू हुनेछ ।
यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ऋणीको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दीगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
एनआइसी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटीएम, ११७ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।