काठमाडौं । सेयर बजारमा सामान्य अंकको वृद्धि भएको छ । आइतबार ५ अंकले घटेको नेप्से आज ३ अंकले बढेको हो ।
सोमबार नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ बिन्दुमा पुगेको छ । सूचकमा झिनो सुधार आए पनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७० करोडले बढेर ५ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।
आज ३२२ कम्पनीको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक १.५६ प्रतिशतले बढेको छ भने व्यापार समूह ०.४२ प्रतिशतले घटेको छ ।
आज मेरो माइक्रोफाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको २४ करोड ३२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।
कारोबारमा आएका मध्ये १४२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको घटेको छ ।
बढ्दो बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल फाइनान्स र गणपति लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
आज बुद्धभूमि नेपाल हाइड्रोपावर सेयरधनीले भने सर्वाधिक ७.०१ प्रतिशत गुमाएका छन् ।