काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले चिनियाँ गाडी बीवाइडीको नेपालकाे आधिकारिक बिक्रेता साइमेक्स इंकसँग हिमचिम गर्ने सरकारी अधिकारीलाई कारबाहीकाे माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले कर छलीको अनुसन्धान झेलिरहेको साइमेक्स इंकले सरकारी सूचनाकै कारण जेठमा अस्वभाविका गाडी आयात गरेको बताएका हुन् ।
उनले विद्युतीय गाडीमा कर वृद्धिको सरकारी सूचनाको कारण नै साइमेक्सले जेठमा वैशाखको तुलनामा तेब्बर बढी अर्थात् २९०० गाडी भित्र्याएको बताए ।
‘विद्युतीय गाडीमा कर वृद्धिको सरकारी सूचनाको कारण नै अस्वाभाविक ढंगबाट गाडी भित्रिएको अनुमान लगाउन कठिन छैन । त्यसैले यो राष्ट्रघाती र उपभोक्तामारा कार्यको गम्भीर छानबिन गरी दोषीउपर कडा कारबाहीका लागि माग गर्दछु,’ उनले भने ।