काठमाडौं । सिमेन्ट निर्यात फस्टाउँदै गएको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण स्वदेशी बजारमा सिमेन्टको खपत बढ्न नसके पनि वैदेशिक व्यापार भने चम्किँदै गएको हो ।
भारतीय बजारमा नेपाली सिमेन्टको माग बढ्दै जाँदा निर्यात बढ्दै गएको हो । महिनामै आधा अर्बसम्मको सिमेन्ट विदेशिन थालेको छ । यसअघि सबैभन्दा धेरै निर्यात हुने वस्तुहरूको व्यापार घट्दै गइरहेको बेला पछिल्लो समय नेपालबाट सिमेन्ट, प्लाइवुड, डण्डी तथा फलामजन्य वस्तुको निर्यात भने ह्वात्तै बढेको छ । जसले मुलुकको डरलाग्दो व्यापार घाटा घटाउन थोरै भए पनि भूमिका खेलेको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आव २०८०/८१ को ११ महिना (साउन-जेठमा)मा नेपालबाट हुने निर्यात १.८४ प्रतिशतले घटेको छ । तर, यही अवधिमा सिमेन्ट निर्यात भने ४३९.७१ प्रतिशतले बढेको छ ।
विभागको तथ्यांक अनुसार चालु वर्षको जेठसम्म ३ अर्ब ६५ करोड रुपैयाँ बढिको सिमेन्ट तथा क्लिङ्कर विदेशिएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा झण्डै साढे ५ गुणा धेरै हो । गत वर्ष जेठसम्म कुल ६७ करोड ७६ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो ।
चालु वर्षको ११ महिनामै गत वर्ष भरीकोभन्दा २ अर्ब ८७ करोड रुपैयाँ बढीको सिमेन्ट निर्यात भएको हो । गत आव २०७९/८० मा कुल ७७ करोड ९३ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको थियो ।
विभागका अनुसार चालु आवको जेठसम्म १ अर्ब ८२ करोड ८६ लाख रुपैयाँ बराबरको ४ लाख ९६ हजार ७७३ मेट्रिकटन क्लिंकर (सिमेन्टको कच्चा पद्धार्थ) निर्यात भएको छ ।
त्यस्तै, यही अवधिमा १ अर्ब ८३ करोड २४ लाख रुपैयाँको २१ लाख ४७ हजार ७३७ मेट्रिकटन तयारी सिमेन्ट निर्यात भएको छ ।
निर्यात सुरू भएको दुई वर्षमै सिमेन्ट नेपालबाट निर्यात हुन् प्रमुख वस्तुको सूचीमा पर्न थालेको छ । अहिले सिमेन्ट नेपालबाट निर्यात हुने प्रमुख १५ वस्तुभित्र परिसकेको छ । चालु वर्षको ११ महिनामा १ खर्ब ३९ अर्बको वस्तु निर्यात हुँदा सिमेन्टको हिस्सा २.६२ प्रतिशत पुगेको छ ।
महिनामा आधा अर्बसम्मको सिमेन्ट निर्यात
चालु आवमा नेपालबाट एक महिनामै आधा अर्ब रुपैयाँसम्मको सिमेन्ट निर्यात भएको छ । चैत महिनामा ५० करोड २९ लाख रुपैयाँको रुपैयाँ सिमेन्ट निर्यात भएको छ । यो हालसम्म कुनै एक महिनामा निर्यात भएको सबैभन्दा धेरै हो ।
यसअघि गत असोजमा सबैभन्दा धेरै ४३ करोड ४६ लाख रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात थियो । त्यस्तै, चालु आवमा वैशाखमा ३२ करोड १६ लाख, चैतमा ३६ करोड, फागुनमा ४१ करोड ९ लाख, माघमा २९ करोड ७५ लाख, पुसमा २७ करोड १० लाख, मंसिरमा ३६ करोड, कात्तिकमा २७ करोड ७७ लाख, साउनमा २३ करोड ५० लाख र भदौमा १८ करोड ३५ लाख रुपैयाँ बराबरका निर्यात भएको विभागको तथ्यांक छ ।
चालु वर्षमा औसतमा मासिक ३३ करोड रुपैयाँको सिमेन्ट निर्यात भएको छ । नेपालबाट पहिलोपटक २०७९ असारदेखि सिमेन्ट निर्यात हुन थालेको थियो । सो महिना करिब १५ लाख रुपैयाँ सिमेन्ट निर्यात भएको थियो ।
नगद अनुदानले खोलेको निर्यातको ढोका
नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेकाले निर्यातको सम्भावना देखेपछि सरकारले गत वर्षको बजेटमार्फत निर्यातको ढोको खोलेको थियो । आव २०७९÷८० को बजेटमार्फत सिमेन्ट, स्टील, प्लाइवुड लगायत वस्तु निर्यातमा ८ प्रतिशत अनुदान र वार्षिक रु १० करोडभन्दाबढीको विद्युत् खपत गर्ने उद्योगलाई २ देखि १५ प्रतिशतसम्म महसुलमा छुट दिने घोषणा गरेको थियो । त्यसपछि नेपालबाट सिमेन्ट, प्लाइवुड लगायत वस्तु निर्यातको नयाँ ढोका खुलेको थियो ।
नेपालबाट सिमेन्ट निर्यात हुन थालेको डेढ वर्ष वढी भइसकेको छ । यस अवधिमा आधा दर्जन उद्योगले निर्यात थालेका छन् । पहिलोपटक २०७९ असार २४ गते पाल्पा सिमेन्टको ‘तानसेन’ ब्राण्ड भारत निर्यात सुरू गरेको थियो ।
त्यसपछि, २०७९ असोज ३१ गतेदेखि अर्घाखाँची, २०८० जेठ २९ गतेदेखि बालाजी सिमेन्टले ‘बाहुबली’ र ‘श्रृष्टी’ ब्राण्डमा पीपीसी र २०८० गत भदौ २१ देखि सीजी सिमेन्टले निर्यात थालेका थिए । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले पनि गत मंसिर १६ गतेदेखि भारतमा क्लिंकर निर्यात सुरू गरेको थियो ।
अन्य सिमेन्ट उद्योगहरूले पनि भारत निर्यातको तयारी गरिरहेको सिमेन्ट उत्पादक संघले जनाएको छ । नेपाली सिमेन्ट उद्योगले भारत निर्यातका लागि भारत सरकारबाट गुणस्तरको प्रमाणपत्र लिनुपर्ने व्यवस्था छ । सो प्रक्रियामा रहेकाले थप उद्योगले पनि चाँडै निर्यात थाल्ने संघको भनाइ छ । अहिले भारतीय बजारमा पनि नेपाली सिमेन्ट बजारीकरण हुन नसकेको र बजारीकरण गर्न सक्ने तत्कालै महिनामै अर्बौंको सिमेन्ट निर्यात गर्न सकिने संघले जनाएको छ ।
नेपालमा हाल ५० बढी सिमेन्ट उद्योग संचालित छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन । यी सिमेन्ट उद्योगको वार्षिक उत्पादन क्षमता झण्डै २ करोड २० लाख टन हाराहारी रहेको छ ।