चलायमान हुँदै अर्थतन्त्र : बढ्यो उपभोग्य वस्तुको माग, जेठमा चालु वर्षकै धेरै आयात

"एक महिनामै उठ्यो ४२ अर्ब भन्सार राजस्व "

काठमाडौं । बजारमा उपभोग्य वस्तुको माग बढ्न थालेको देखिएको छ । पछिल्ला महिनाहरूमा अर्थतन्त्र क्रमशः चलायमान हुन थालेसँगै बजारमा वस्तुको पनि माग बढ्न थालेको हो ।

अहिले निर्माण सामग्री सँगसँगै अन्य उपभोग्य वस्तुको पनि माग बढ्न थालेको भन्सार विभागको तथ्यांकले देखाएको छ । निर्माण गतिविधि बढ्दा उद्योगहरूको कच्चा पद्धार्थ आयात बढेको छ ।

विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठमा चालु वर्षकै धेरै वस्तु आयात भएको छ । जेठमा १ खर्ब ५० अर्ब ३४ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ । चालु आवको ११ महिनामा आयात भएको सबैभन्दा धेरै हो । यसअघि गत असोजमा १ खर्ब ४८ अर्बको वस्तु आयात भएको थियो ।

जेठमा वैशाखको तुलनामा १४ अर्ब ३६ करोड रुपैयाँ बढीको आयात भएको हो । वैशाखमा १ खर्ब ३५ अर्ब ९८ करोड रुपैयाँको १ खर्ब ३३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो ।

चालु वर्षमा मासिक औसतमा १ खर्ब ३२ अर्ब ९ करोड रुपैयाँको विदेशी वस्तु आयात हुँदै आएको छ । जेठमा औसतभन्दा १८ करोड रुपैयाँ रुपैयाँ बढीको वस्तु आयात भएको हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिना (साउन-जेठ)मा कुल १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँको वस्तु आयात भएको छ । यद्यपि, गत वर्षको सोही अवधिको तुलनामा आयात १.४८ प्रतिशत अर्थात् २७ अर्ब अर्ब रुपैयाँले कम हो । गत वर्ष जेठसम्म १४ खर्ब ८० अर्ब रुपैयाँ बढीको विदेशी वस्तु आयात भएको थियो ।

चालु वर्षको असोजमा सबैभन्दा धेरै १ खर्ब ४८ अर्ब र कात्तिकमा सबैभन्दा कम १ खर्ब ५ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । त्यस्तै, साउनमा १ खर्ब २९ अर्ब, भदौ १ खर्ब ३० अर्ब, कात्तिकमा १ खर्ब ५ अर्ब, मंसिरमा १ खर्ब ३० अर्ब, पुसमा १ खर्ब २६ अर्ब, माघमा १ खर्ब २९ अर्ब, फागुनमा १ खर्ब ३३ रुपैयाँ, चैतमा १ खर्ब ३७ अर्ब र वैशाखमा १ खर्ब ३६ अर्बको सामान आयात भएको छ ।

जेठसम्म वस्तु आयातबापत लाग्ने भन्सार दस्तुरबाट सरकारले ३ खर्ब ८४ अर्ब रुपैयाँ आम्दानी छ । जेठमा मात्रै भन्सारबाट ४२ अर्ब राजस्व उठेको छ ।चालु आवमा औसतमा मासिम ३४ अर्ब भन्सार राजस्व संकलन हुँदै आएकोमा जेठमा औसतभन्दा ८ अर्ब रुपैयाँ बढेको हो ।

निर्यात सवा ४ अर्ब घट्यो

समीक्षा अवधिमा निर्यातमा पनि गिरावट आएको छ । गत वर्षको तुलनामा चालु आवको ११ महिनामा नेपालबाट हुने निर्यात ३.०१ प्रतिशतले घटेको छ ।

विभागका अनुसार चालु आवको जेठसम्म कुल १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ सामान विदेशिएको छ । यो गत वर्षकोभन्दा ४ अर्ब ३२ करोड रुपैयाँ कम हो । गत वर्ष सोही अवधिमा १ खर्ब ४३ अर्ब ५८ करोड रुपैयाँको वस्तु नेपालबाट विदेशिएको थियो । यस वर्ष मासिक औसतमा १२ अर्ब ६३ करोड रुपैयाँको सामान निर्यात भएको छ ।

व्यापार घाटामा सुधार

गत वर्षको तुलनामा आयात घटेसँगै व्यापार घाटामा पनि सुधार आएको छ । समीक्षा अवधिमा व्यापार घाटा १.८४ प्रतिशतले घटेको छ । गत वर्ष जेठसम्म १३ खर्ब ३७ अर्ब व्यापार घाटा रहेकोमा चालु वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्बमा सीमित भएको छ । गत वर्षकोभन्दा व्यापार घाटा २० अर्बले घटेको हो ।

चालु आवको ११ महिनामा कुल १५ खर्ब ९२ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । यो गत वर्ष सोही अवधिकोभन्दा १.९५ प्रतिशत अर्थात् साढे ३१ अर्ब रुपैयाँ कम हो । गत वर्ष जेठसम्म १६ खर्ब २४ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

२४ खर्ब नाघ्यो सार्वजनिक ऋण, आन्तरिकभन्दा विदेशी धेरै Read Previous

२४ खर्ब नाघ्यो सार्वजनिक ऋण, आन्तरिकभन्दा विदेशी धेरै

तत्काल मेलम्चीको पानी बन्द नहुने, सावधानी अपनाएर पठाइँदै Read Next

तत्काल मेलम्चीको पानी बन्द नहुने, सावधानी अपनाएर पठाइँदै