काठमाडौं । भक्तपुरको नलिञ्चोकमा निर्मित सुविधा सम्पन्न हेलिप्याड आजदेखि संचालनमा आएको छ ।
त्रिभुवन विमानस्थलको हवाइ चाप घटाउने योजनासहित निर्माण गरिएको उक्त हेलिप्याड शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले उद्टघान गरेका हुन् ।
उक्त हेलिप्याड भक्तपुरको सूर्यविनायक नगरपालिका-१० नलिञ्चोकमा करिब ३३ रोपनी क्षेत्रफलमा बनेको छ । हेलिप्याडमा १७ वटा हेलिकप्टर पार्किङ गर्न मिल्ने क्षमता छ । एकपटकमा ४ टेक अफ/ल्यान्डिङ गर्न सकिने नागरिक उड्डयन प्राधिकरणले जनाएको हो ।
हेलिप्याड सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापनमा सहज हुने प्राधिकारणले जनाएको छ ।
करिब रु ११ करोडको लागतमा हेलिप्याड निर्माण सम्पन्न भएको उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हाल मुलुकमा १२ हेलिकप्टर सेवा प्रदायक कम्पनीका ४० हाराहारी हेलिकप्टर छन् ।
पर्यटनमन्त्री तामाङले मुलुकको हवाई उडानलाई सुरक्षित र भरपर्दो बनाउन मन्त्रालयले नीतिगत र संरचनागत सुधारका काम अगाडि बढाएको बताए । उनले भक्तपुरमा पहिलो पटक सुविधायुक्त हेलिप्याड व्यावसायिक रुपमा सञ्चालन आउनु नागरिक उडानका लागि निकै उपलब्धिमूलक भएको उल्लेख गरे ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हेलिप्याड सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान चाप व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले उडान चाप व्यवस्थापनसँगै हेलिकप्टर सेवा प्रदायक कम्पनीलाई सहज रुपमा सेवा प्रदान गर्न मद्दत पुग्नुको साथै स्थानीयले पनि यसबाट लाभ लिनसक्ने विश्वास व्यक्त गरे ।
महानिर्देशक अधिकारीले अहिले त्रिभुवन विमानस्थल विस्तारको क्रममा रहेकाले जनाउँदै हालको हेलिकप्टर पार्किङ क्षेत्रमा पनि विस्तारको काम भइरहेको बताए । मुलुकको नागरिक उड्डयन सेवालाई सुरक्षित, भरपर्दो र स्तरीय बनाउन पूर्वाधार विस्तारसहित विभिन्न काम अगाडि बढाइएको उनको भनाइ छ ।