भारतले दुई छिमेकी समेटर १२७५ किमी रेगमार्ग विस्तार गर्दै, नेपालतर्फ २०२ किमी

काठमाडौं । भारतले नेपाल र बंगलादेशलाई समेटेर रेलमार्ग विस्तार गर्ने भएको छ । दुई छिमेकीसँग सीमापार सम्पर्क बढाउन र उत्तरपूर्वी राज्यहरूमा वैकल्पिक मार्गको विकास गर्न भारतले त्रिदेशीय रेलवे सेवा विस्तारको योजना अघि सारेको हो ।

भारती रेलवे बोर्डले गरेको लोकेसन सर्भेका आधारमा त्रिदेशीय नयाँ रेलमार्ग कुल १ हजार २७५.५० किलोमिटरको दूरीको हुनेछ । बोर्डले उत्तरपूर्वी राज्यहरू (आसाममा सिलगढी कोरिडरलाई छाडेर)लाई बंगलादेश र नेपालसँग जोड्दै नयाँ रेलवे ट्रयाक निर्माण गर्ने प्रस्ताव सर्वेक्षण स्वीकृत समेत गरिसकेको छ । यस्तै, बोर्डले १४ नयाँ रेलवे रुट समेत स्वीकृत गरेको छ ।

रेलवे बोर्डका अनुसार रेलवे योजनाले बंगलादेशमा ८६१ किलोमिटर, नेपालतर्फ २०२.५० किलोमिटर र उत्तर बङ्गाल र पूर्वोत्तरमा २१२ किलोमिटर क्षेत्रलाई समेट्नेछ । बंगलादेश सरकारले आफ्नो क्षेत्र भित्र रेलवे ट्र्याक बिछ्याउने अनुमति दिने निर्णय गरेसँगै भारतले यो कनेक्टिभिटी योजनालाई अगाडि बढाएको हो ।

भारतले नेपालतर्फ कुल २०२.५० किलोमिटर लामो रेलमार्ग निर्माण गर्ने भएको छ । जसमा १९० किलोमिटर लामो विराटनगर–न्यू माल जक्सन रुट स्वीकृत गरेको छ । त्यस्तै, १२.५० किलोमिटर गलगलिया–भद्रपुर–कजली रुट निर्माण हुनेछ ।

त्यस्तै, बंगलादेशमा ५०० किलोमिटर नयाँ रेलवे मार्ग निर्माण हुनेछ भने ३६७ किलोमिटर खण्डको ट्रयाक परिवर्तन गरिनेछ । भारतको उत्तरपूर्वी क्षेत्रमा २१२ किलोमिटर रेलवे रुट विस्तार गरिने योजना छ । करिब २५० किलोमिटर नयाँ लाइन भने पश्चिम बंगाल, बंगलादेश र मेघालयमा जोडिनेछ। पश्चिम बंगाल र बंगलादेश रुटमा क्रमशः ८० र ६० किलोमिटर नयाँ रेलवे लाइन बन्नेछ ।

यस योजनाले व्यापार र पर्यटन गतिविधिलाई उल्लेखनीय रूपमा बढावा दिने अपेक्षा गरिएको छ । उत्तरपूर्वी फ्रन्टियर रेलवेका एक वरिष्ठ अधिकारीले यस विकासको महत्त्वलाई प्रकाश पार्दै भनेका छन्, ‘सर्वेक्षण पूरा भएपछि, पूर्वोत्तर र छिमेकी देशहरूमा सुधारिएको रेल कनेक्टिविटीको लागि मार्ग प्रशस्त हुनेछ, व्यापार र पर्यटन गतिविधिहरू वृद्धि हुनेछ ।’

बहुवर्षे शिक्षा नीति बनाउँदै काठमाडौं महानगर Read Previous

बहुवर्षे शिक्षा नीति बनाउँदै काठमाडौं महानगर

असार ७ देखि मेलम्चीको पानी बन्द हुने, धाप ड्यामबाट दैनिक ४ करोड वितरण गरिने Read Next

असार ७ देखि मेलम्चीको पानी बन्द हुने, धाप ड्यामबाट दैनिक ४ करोड वितरण गरिने