
काठमाडौं । चालु आर्थिक वर्षमा बैंकिङ व्यवसाय सुस्त छ । बैंकहरूले निक्षेप संकलन उल्लेख्य रुपमा बढाए पनि कर्जा लगानी भने बढाउन सकेका छैनन् । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग नहुँदा बैंकहरूले अपेक्षित रूपमा कर्जा विस्तार गर्न नसकेका हुन् ।
चालु आवमा राष्ट्र बैंकले निजी क्षेत्रतर्फ साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । सो अनुसार असारसम्म ५ खर्ब ६० अर्ब कर्जा लगानी गर्नुपर्छ । तर, १० महिनामा कर्जा लगानी वृद्धिदर आधाभन्दा कम अर्थात् ४.७ प्रतिशत मात्रै छ । वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले कुल २ खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यस आधारमा चालु आवमा कर्जा विस्ताको लक्ष्य आधा पनि हासिल नहुने देखिन्छ ।
बैंकहरू अहिले कर्जा विस्तारभन्दा पनि असुलीमा केन्द्रित हुन थालेका छन् । तर, आर्थिक मन्दीका कारण व्यवसायीको ऋण तिर्ने क्षमतामा ह्रास आउँदा बैंकहरूको कर्जा असुलीमा समस्या देखिएको छ । जसकारण बैंकहरूको नाफा घट्नुका साथै खराब कर्जा ह्वात्तै बढेको छ । वैशाखसम्म वाणिज्य बैंकहरूको नाफा गत वर्षको तुलनामा १४ प्रतिशतले घटेको छ भने खराब कर्जा बढेर औसतमा ३.६४ प्रतिशत पुगेको छ ।
चालु आवको कात्तिकदेखि ब्याजदर घट्दो क्रममा छ । कर्जा लगानी बढाउन नेपाल राष्ट्र बैंकले पनि नीतिगत लचकता अपनाउँदै आएको छ ।तर, अर्थतन्त्र शिथिल हुँदा र व्यवसायीको मनोवल बढ्न नसक्दा अझै कर्जाको माग बढ्न सकेको छैन ।
पछिल्लो १ वर्ष यता निक्षेप संकलन एकोहोरो बढिरहेको छ । रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि, घट्दो आयात लगायत कारणले निक्षेप लगातार थपिरहेको हो । चालु आवको १० महिनामा समग्रमा निक्षेप ७.८ प्रतिशतले बढेको छ । वैशाखसम्म ४ खर्ब ४३ अर्ब निक्षेप थपिएको छ ।
निक्षेप बढिरहँदा बैंकहरूको ब्याज खर्च बढिरहेको छ भने कर्जा विस्तार गर्न नसक्दा आम्दानी पनि घटिरहेको छ । कर्जाको माग नहुँदा बैंकहरूले आफूले संकलन गरेको निक्षेप बैंकमै थुपारेर राख्न बाध्य भएका छन् । अधिक तरलता भएपछि बैंकहरूले महँगोमा उठाएको निक्षेप ३ प्रतिशत ब्याजदरमा राख्नु परिरहेको छ ।
व्यवसाय विस्तारमा नबिल आक्रमक
आर्थिक मन्दीकै बीच व्यवसाय विस्तारमा नबिल बैंक भने आक्रमक देखिएको छ । १० महिनाको अवधिमा २० वाणिज्य बैंकमध्ये नबिल कर्जा विस्तारमा पहिलो र निक्षेप संकलनमा दोस्रो स्थानमा रहेको छ ।
समीक्षा अवधिमा नबिलले सबैभन्दा धेरै ४१ अर्ब ९० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो वाणिज्य बैंकहरूले चालु आवमा गरेको कुल कर्जा लगानीको २०.५४ प्रतिशत हो ।
चालु आवमा नबिल एक्लैले गरेको कर्जा अरु ८ बैंकले गरेको कुल कर्जा लगानी बराबर हो । नेपाल एसबीआई, इन्भेष्टमेन्ट मेगा, कुमारी, राष्ट्रिय वाणिज्य, एनएमबी, हिमालयन र माछापुच्छ्रे र लक्ष्मी सनराइजले कुल ३५ अर्ब ४६ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
यस्तै, यस अवधिमा नबिलले ५१.६९ अर्ब निक्षेप संकलन गरेको छ । यो कुल निक्षेपको १३.३९ प्रतिशत हो ।
यस्तै, वैशाखसम्म नबिलपछि प्राइम कमर्शियल बैंकले दोस्रो धेरै कर्जा लगानी गरेको छ । यस अवधिमा प्राइमले २७ अर्ब ५४ करोड ऋण लगानी गरेको छ ।
त्यसैगरी, कृषि विकास, एनआइसी एशिया र एभरेष्टले १६ अर्ब बढी कर्जा लगानी गरेका छन् ।
निक्षेपमा राष्ट्रिय वाणिज्य अगाडि
कर्जामा नबिल आक्रमक हुँदा निक्षेपमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक अगाडि रहेको छ । चालु आवको १० महिनामा सरकारी स्वामित्व राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै ६६ अर्ब ५८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यो चालु आवको वैशाखसम्म वाणिज्य बैंकहरुले संकलन गरेको कुल निक्षेपको १७.२५ प्रतिशत हो ।
समीक्षा अवधिमा राष्ट्रिय वाणिज्यले संकलन गरेको निक्षेप झन्डै अरु ६ बैंककोभन्दा धेरै हो । वैशाखसम्म नेपाल, सिटिजन्स, कुमारी, सानिमा, सिद्धार्थ र एनएमबीले कुल ५५ अर्ब ८९ रुपैयाँ निक्षेप संकलन गरेका छन् । जबकि राष्ट्रिय वाणिज्य एक्लैले साढे ६६ अर्ब निक्षेप संकलन गरेको छ ।
राष्ट्रिय वाणिज्यले सबैभन्दा धेरै निक्षेप संकलन गरे पनि कर्जा विस्तारमा भने सुस्त देखिएको छ । साढे ६६ अर्ब निक्षेप संकलन गरेको यस बैंकले १० महिनामा जम्मा ५ अर्ब ८ करोड मात्रै कर्जा लगानी गरेको छ ।
वैशाखसम्म धेरै निक्षेप उठाउनेमा राष्ट्रिय वाणिज्यपछि क्रमशः नबिल ५१.६९ अर्ब, ग्लोबल आइएमई, ३८.४९ अर्ब, इन्भेष्टमेन्ट मेगा ३६.७६ अर्ब, प्राइम २९.२५ अर्ब, एसबीआइ र एभरेष्ट २५ अर्ब रुपैयाँ रहेका छन् ।
खस्किँदै चार्टर्ड र प्रभु
चालु आवमा व्यवसायका आधारमा प्रभु बैंक र विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड भने खस्किएका छन् । यस अवधिमा यी दुवै बैंकको निक्षेप र कर्जा लगानी दुवै घटेको छ ।
समीक्षा अवधिमा प्रभु बैंकको निक्षेप सबैभन्दा धेरै १६ अर्ब ९ करोड रुपैयाँ घटेको छ । अर्थात् साउनदेखि वैशाखसम्म प्रभु बैंकबाट निक्षेपकर्ताले १६ अर्ब निक्षेप झिकेका छन् । असार मसान्तमा २ खर्ब ९५ अर्ब निक्षेप रहेको प्रभुको वैशाख आइपुग्दा घटेर २ खर्ब ७९ अर्बमा सीमित भएको छ । निक्षेप संकलन गर्न नसकेको प्रभुको कर्जा लगानी पनि घटेको छ । असारको तुलनामा बैंकको कर्जा ३ अर्ब ९८ करोड रुपैयाँ घटेको हो ।
त्यस्तै, चालु वर्षमा स्ट्याण्डर्ड चार्टर्डको पनि व्यवसाय खस्केको छ । १० महिनामा चार्टर्डको निक्षेप ८ अर्ब २६ करोड र कर्जा लगानी ८ अर्ब ५१ करोड रुपैयाँले घटेको छ ।