काठमाडौं । सिद्धार्थ राजमार्गको पाल्पास्थित सिद्धबाबा सुरुङमार्ग निर्माण झण्डै १३ प्रतिशत सकिएको छ ।आयोजनाले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरण अनुसार हालसम्म सुरुङको प्रगति १२.६३ प्रतिशत पुगेको हो ।
आयोजनाका अनुसार कुल १ हजार १३६ मिटरमध्ये आइतबारसम्म १६६.२८ मिटर खन्ने काम सकिएको हो । जसमा उत्तरतर्फबाट ७६.१२ र दक्षिण तर्फबाट ९०.१६ मिटर सुरुङ खनिएको छ ।
यस्तै, ३ वटा बाइपास खन्ने काम पनि भइरहेको छ । आयोजनाका अनुसार हालसम्म बाइपास प्रथमतर्फ ३८.१ मिटर, बाइपास दोस्रो ३५.३ मिटर र बाइपास तेस्रो ३४.१ मिटर खनिएको छ ।
यसैगरी, २ हजार ३०० स्लोप प्रोटेक्सन गर्नु पर्नेमा हालसम्म तर्फ दक्षिणतर्फ १ हजार ४९५ वर्गमिटर र उत्तरतर्फ ४९५ वर्गमिटर बराबरको काम भएको आयोजनाले जनाएको छ । हालसम्म आयोजनाकाे वित्तीय प्रगति १७.५ प्रतिशत पुगेको छ ।
कुल १ हजार १२६ मिटर लामो यो सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन ९ईपीसी० मोडलमा निर्माण गर्न लागिएको हो । यस मोडलमा ठेकेदार कम्पनीले नै डिजाइन, खरिद, निर्माण र तोकिएको समयसम्म सञ्चालन र मर्मतसम्भार समेत गर्नुपर्छ ।
सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का पाएको हो । ठेक्का सम्झौता अनुसार २२ मार्च २०२७ भित्र सुरुङ निर्माण सम्पन्न गर्नुपर्नेछ ।
सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा सिद्धबाबाको मन्दिरको उत्तरतर्फ चिडियाखोला नजिकै सुरुङमार्गको एउटा पोर्टल रहनेछ । चिडियाखोलाको खोँच हुँदै दोभान नजिकै निस्कने छ ।
निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्गका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको निर्माण लुम्बिनी प्रदेशसँगै देशको पूर्वाधार विकासका हिसाबले महत्वपूर्ण छ । बाह्रै महिना खस्ने पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा सुरुङ निर्माण गर्न लागिएको हो ।
नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ले पहिरोको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ । सुरुङ दुई लेनको हुनेछ । यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई ‘रकसेड’बाट पठाउने गरी योजना बनाइएको छ । ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु सवारीसाधन सुरुङबाटै जानेछन् ।
सुरुङमार्गले गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङलगायत दर्जन बढी जिल्लासीलाई सुविधा पुग्नेछ । सुरुङ सञ्चालनमा आएपछि सम्भावित दुर्घटना कम गराउन र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।