खर्च घटाउन बैंकले ९ महिनामै आधासम्म घटाए निक्षेपको ब्याज, कुनले कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना (कात्तिक-असार)मा वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर झण्डै आधासम्मले घटाएका छन् । एकोहोरो निक्षेप बढिरहने तर कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले आफ्नो खर्च घटाइ लागत कम गर्न निक्षेपको ब्याजदर व्यापक रुपमा घटाएका हुन् ।

तरलता अभावका कारण बैंकहरूले गत असोजसम्म निक्षेपको ब्याजदर बढाएका थिए । तर, महँगोमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकेपछि बैंकहरूले ब्याज खर्च घटाउन कात्तिकदेखि निक्षेपको ब्याजदर घटाउन थालेका थिए । त्यसयता बैंकहरूले लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका छन् ।

कात्तिक यता ९ महिनामा बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अधिकतम ५.३० प्रतिशत बिन्दुसम्मले घटाएका छन् । यस अवधिमा व्यक्तिगत निक्षेपको ब्याज औसतमा ३.३८ प्रतिशत बिन्दु र संस्थागत मुद्दतीको २.५१ प्रतिशत बिन्दुले घटाएका छन् ।

गत असोजमा व्यक्तिगत निक्षेपको औसत ब्याजदर १०.२६ प्रतिशत रहेकोमा असारसम्म आइपुग्दा घटेर ६.८८ प्रतिशतमा झरेको छ ।

त्यस्तै, यही अवधिमा संस्थागत मुद्दतीको ब्याजदर २.५१ प्रतिशत बिन्दुले घटाएका छन् । गत असोजमा संस्थागत मुद्दती निक्षेपको ब्याजदर औसतमा ८.१८ प्रतिशत बिन्दु रहेकोमा असारमा ५.६७ प्रतिशतमा झरेको छ ।

अर्थतन्त्रमा आएका संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले महिनैपिच्छे निक्षेपको ब्याजदर घटाएका हुन् । ब्याजदर सस्तिँदा पनि अपेक्षित रूपमा कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले आफ्नो खर्च घटाउन निक्षेपको ब्याजदर घटाएका हुन् ।

चालु वर्षको सुरूदेखि नै बढ्दो रेमिट्यान्स, आयात घट्नु, कर्जाको माग नहुनु लगायत कारणले एकोहोरो निक्षेप बढिरहेको छ । चालु वर्षको १० महिना (साउन–असार)मात्रै ४ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकको तथ्यांक छ । तर, यस अवधिमा कर्जाको माग नबढ्दा बैंकहरूले संकलन गरेको निक्षेपको आधा रकम मात्रै लगानी गर्न सकेका छन् । असारसम्म बैंकहरूले २ खर्ब २५ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गर्न सकेका छन् ।

व्यवसाय विस्तार गर्न नसकेपछि बैंकहरूले आफ्नो खर्च घटाउन महिनैपिच्छे निक्षेपको ब्याजदर घटाएका हुन् । विगतमा महँगोमा उठाएको निक्षेप लगानी गर्न नसक्दा ब्रैंकहरूलाई अहिले भारी भएको छ । बैंकहरूले ब्याज खर्च घटाई लागत कम गर्न निक्षेपको ब्याजदर घटाएका हुन् । गत वर्ष प्रणालीमा तरलता अभाव हुँदा बैंकहरूले निक्षेपको ब्याज १२ प्रतिशतसम्म थिएका थिए भने अहिले पैसा फालाफल भएपछि ब्याजदरमा भारी कटौती गरेका हुन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसक्दा उल्टो लागत बढेपछि कात्तिकदेखि ब्याजदर लगातार घटाउँदै आएका हुन् ।

साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेपछि त्यस यता बैंकहरूले आफूखुसी स्वतन्त्र रूपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।

निक्षेपको ब्याजदर घट्दा कर्जाको समेत ब्याजदर घट्ने भएकाले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ । तर, बैंकमा निक्षेप राखेर ब्याज खानेहरूलाई भने घाटा लागेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार निक्षेपमा मुद्दतीको हिस्सा ५९ प्रतिशत छ ।

हाल बैंकिङ प्रणालीमा ५ खर्ब बढी तरलता छ । तर, कर्जाको माग बढ्न नसक्दा बैंकहरूले राष्ट्र बैंकले दिएको स्थायी निक्षेप सुविधा अन्तर्गत ३ प्रतिशत ब्याजदरमै पैसा राखिरहेका छन् । तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई समेत हम्मेहम्मे परिरहेको छ । राष्ट्र बैंकले हप्तैपिच्छे प्रणालीबाट अर्बौं रुपैयाँ खिचिरहेको छ ।

सरकार र नेपाल राष्ट्र बैंकले कर्जाको माग बढाउन नीतिगत लचकता अपनाउँदै आए पनि अपेक्षित रूपमा माग बढ्न सकेको छैन । बजारमा उपभोग्य वस्तुको माग र उद्यमीको मनोवल नबढ्दा अझै कर्जाको माग नबढेको जानकारहरू बताउँछन् ।

कुनले कति घटाए निक्षेपको ब्याज ?

कात्तिक यता व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सवा ५ प्रतिशत बिन्दुसम्मले घटेको छ । जसमा निजी क्षेत्रको एभरेष्ट बैंकले सबैभन्दा धेरै ५.३० प्रतिशत बिन्दुले घटाएको छ । असोजमा ११.०५ प्रतिशत रहेको एभरेष्टको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर असारमा ५.७५ प्रतिशतमा झारेको छ ।

यस अवधिमा अरु ५ बैंकले पनि ४ प्रतिशत बिन्दुभन्दा धेरैले निक्षेपको ब्याजदर घटाएका छन् । प्राइम कमर्शियल ४.६१ प्रतिशत, कृषि विकासले ४.३४ प्रतिशत, नबिल ४.०५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले ४.०३ प्रतिशत र ग्लोबल आइएमई बैंकले ४ प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर घटाएका छन् ।

त्यसैगरी, कुमारीले ३.७४ प्रतिशत, नेपाल एसबीआइ ३.७० प्रतिशत, लक्ष्मी सनराइज ३.५० प्रतिशत, राष्ट्रिय वाणिज्य ३.२८ प्रतिशत, एनआइसी एशिया ३.२०, सिटिजन्स र सानिमाले समान ३.१५ प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर घटाएका छन् ।

यस्तै, यस अवधिमा ६ वटा बैंकले २ देखि ३ प्रतिशत बिन्दुको बीचमा ब्याजदर घटाएका छन् । विदेशी लगानीको स्ट्याण्डर्ड चार्टर्डले भने सबैभन्दा कम १.९२ प्रतिशत बिन्दुले मात्र ब्याजदर घटाएको छ । यद्यपि, कात्तिकमा चार्टको ब्याजदर अरु बैंकको तुलनामा निकै कम थियो ।

नेपाल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

नेपाल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै Read Next

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै