महसुल नतिर्ने ९ जिल्लाका ३ हजार ७१२ ग्राहहको बिजुली लाइन काटियो

कैलाली । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिममा लामो समयदेखि विद्युत् महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन बिच्छेद गर्न थालेको छ । प्राधिकरणले चालु आर्थिक वर्षमा महसुल बुझाउन अटेर गर्ने ग्राहकको विद्युत् लाइन काट्न थालेको हो ।

प्राधिकरणले चालु आवको वैशाख मसान्तसम्ममा सुदूरपश्चिमका ९ वटै जिल्लाका ३ हजार ७१२ जना ग्राहकको लाइन बिच्छेद गरेको जनाएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले लाइन बिच्छेद गर्न थालेको नेपाल विद्युत् प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक जङ्गबहादुर चन्दले बताए ।

उनका अनुसार चालु आवको सो अवधिमा रु ६ करोड ३५ लाख बक्यौता रकममध्ये लाइन विच्छेद गरेर रु ४ करोड ५० लाख महसुल असुल गरिएको छ । लामो समयदेखि महसुल तिर्न अटेरी गर्दै आएका ग्राहकलाई महसुल तिर्न पटकपटक ताकेता गर्दा पनि तिर्न आनाकानी गरेपछि बाध्य भएर लाइन विच्छेद गर्नुपरेको निर्देशक चन्दले बताए।

सुदूरपश्चिमका नौ जिल्लाका ग्राहकबाट रु ६ करोड ३४ लाख ९४ हजार महसुल बक्यौता देखिएपछि लाइन बिच्छेद गरिएको प्राधिकरणले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले लाइन काटेका ३ हजार ७१२ ग्राहकमध्ये २ हजार ५६२ जनाले बक्यौता तिरेर लाइन जडान गरेका छन् भने लाइन विच्छेद गरिएका १ हजार १५० ग्राहकले अझै लाइन जडान नगरेको निर्देशक चन्दले जानकारी दिए ।

सुदूरपश्चिमका नौ जिल्लामा १२ वितरण केन्द्रबाट विद्युत् सेवा प्रदान गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सुदूरपश्चिममा हालसम्म ३ लाख ६७ हजार २७० ग्राहक छन् ।

सुदूरपश्चिमका पहाडी जिल्लामा विद्युत् सेवा विस्तार हुन नसकेका स्थानमा ठेक्का सम्झौता भएर विद्युतीकरण विस्तारको काम भइरहेकाले हरेक वर्ष प्राधिकरणका ग्राहकको सङ्ख्या पनि बढ्दै गएको निर्देशक चन्दले बताए ।रासस

कारसँग ठोकिएको बस त्रिशूली किनारमा खस्यो, २० जना घाइते, ५ को अवस्था गम्भीर Read Previous

कारसँग ठोकिएको बस त्रिशूली किनारमा खस्यो, २० जना घाइते, ५ को अवस्था गम्भीर

नेपालकै तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन, ४ हजार मेगावाट बिजुली प्रवाह हुने Read Next

नेपालकै तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन, ४ हजार मेगावाट बिजुली प्रवाह हुने