हायर पर्चेजसहित ५ क्षेत्रमा कर्जाको वृद्धिदर ऋणात्मक, यी क्षेत्रमा भने बढ्दै

काठमाडौं । चालु आर्थिक वर्षमा ५ क्षेत्रमा कर्जा वृद्धिदर ऋणात्मक भएको छ । अर्थतन्त्रमा आएको संकुचनका कारण बजारमा उपभोग्य वस्तुको माग बढ्न नसक्दा मुख्यगरी उत्पादनमूलक र व्यापार प्रयोजनका लागि प्रदान हुने कर्जा लगानी घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने १२ प्रकृतिका कर्जामध्ये ५ प्रकृतिका कर्जाको वृद्धिदर ऋणात्मक भएको छ । वैशाख मसान्तसम्म ओभर ड्राफ्ट कर्जा, आयात कर्जा, चालु पूँजी कर्जा, हायर पर्चेज र रियल ई–स्टेट कर्जाको वृद्धिदर ऋणात्मक छ ।

चालु वर्षमा ओभर ड्राफट् कर्जा सबैभन्दा धेरै ४४.७ प्रतिशतले घटेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल २ खर्ब ३१ अर्ब रुपैयाँ ओभर ड्राफ्ट कर्जा लगानी गरेकोमा वैशाख मसान्त आइपुग्दा १ खर्ब २८ अर्ब रुपैयाँमा झरेको छ । चालु आवको १० महिनामा ओभर ड्राफ्ट कर्जा १ खर्ब ३ अर्ब रुपैयाँले घटेको छ ।

त्यसैगरी, चालु पूँजी कर्जा (वर्किङ क्यापिटल लोन) १ खर्ब १४ अर्ब रुपैयाँले घटेको छ । असार मसान्तसम्म ८ खर्ब ८० खर्ब चालु पूँजी कर्जा लगानी भएकोमा वैशाख आइपुग्दा १३ प्रतिशतले घटेर ७ खर्ब ६५ करोड रुपैयाँमा झरेको छ ।

चालु आवमा हायर पर्चेज कर्जा लगानीमा पनि भारी गिरावट आएको छ । असारसम्म १ खर्ब ५९ अर्ब हायर पर्चेज कर्जा लगानी भएकोमा वैशाख आइपुग्दा २१.८ प्रतिशतले घटेर १ खर्ब २४ अर्ब रुपैयाँमा झरेको छ । १० महिनामा हायर पर्चेज कर्जा २६ अर्ब ८५ करोड रुपैयाँले घटेको हो । राष्ट्र बैंकले यस क्षेत्रमा कर्जा लगानी बढाउन नीतिगत लचकता अपनाए पनि ऋणको माग बढ्न नसकेको देखिएको छ ।

त्यस्तै, चालु आवमा आयात कर्जा ३७ करोड रुपैयाँले घटेको छ । असरसम्म ७३ अर्ब ५७ करोड आयात कर्जा लगानी भएकोमा वैशाख आइपुग्दा ०.५ प्रतिशतले घटेर ७३ अर्ब २० करोडमा झरेको छ ।

यी प्रकृतिका कर्जा भने बढ्दै

चालु आवमा ७ प्रकृतिका कर्जा लगानी भने बढेको छ । राष्ट्र बैंकका अनुसार ट्र लोन, क्यास क्रेडिट लोन, व्यक्तिगत आवासीय कर्जा, मार्जिक कर्जा, डिसप्राइड सेक्टर लोन, बिल पर्चेज र अन्य प्रडक्ट कर्जा लगानी वृद्धिदर धनात्मक छ ।

चालु आवमा बिल पर्चेज लोनको वृद्धिदर सबैभन्दा धेरै ३८.१ प्रतिशतले बढेको छ । असारसम्म ४ अर्ब २७ करोड बिल पर्चेज लोन लगानी भएकोमा वैशाखसम्म आइपुग्दा १ अर्ब ६२ करोडले बढेर ५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

रकमका आधारमा भने चालु आवमा ट्रम लोन सबैभन्दा धेरै बढेको छ । १० महिनामा यस्तो प्रकृतिको कर्जा लगानी २ खर्ब २९ अर्ब रुपैयाँले बढेको छ ।

त्यसैगरी, क्यास क्रेडिट लोन २५.६ प्रतिशत अर्थात् १ खर्ब ३१ अर्ब रुपैयाँले बढेको छ । असारसम्म ५ खर्ब १६ अर्ब क्यास क्रेडिट लोन लगानी भएकोमा वैशाख आइपुग्दा बढेर ६ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ ।

चालु आवमा व्यक्तिगत आवसीय कर्जा (२ करोडसम्म) ११.८ प्रतिशत अर्थात् ४१ अर्ब १९ करोड रुपैयाँले बढेको छ । असारसम्म ३ खर्ब ४८ अर्ब रुपैयाँ घर कर्जा लगानी भएकोमा वैशाखसम्म बढेर ३ खर्ब ८९ अर्ब रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले एकपछि अर्को नीतिगत लचकता अपनाएसँगै घरजग्गा कर्जा लगानी बढेको हो ।

त्यसैगरी, चालु आवमा मार्जिन प्रकृतिको (सेयर धितो) कर्जा लगानी १२.६ प्रतिशतले बढेको छ । चालु आवको १० महिनामा सेयर कर्जा ९ अर्ब ६४ करोड रुपैयाँले बढेको छ ।

त्यस्तै, डिस्प्राइड सेक्टर (विपन्न वर्ग)मा प्रवाह हुने कर्जा १.१ प्रतिशत अर्थात् ७ अर्ब ४६ करोड रुपैयाँ र अन्य प्रडक्ट कर्जा ०.३ प्रतिशत (१ अर्ब ४६ करोड)ले बढेको छ ।

पछिल्लो समय कर्जा लगानी बढाउन नेपाल राष्ट्र बैंकले एकपछि अर्को नीतिगत अंकुश हटाउँदै लगेको छ । यद्यपि, अपेक्षित रुपमा कर्जा विस्तार हुन सकेको छैन । राष्ट्र बैंकले चालु आवमा निजी क्षेत्रतर्फ साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेको छ । सो अनुसार ५ खर्ब ६० खर्ब बढी रुपैयाँ कर्जा लगानी गनुपर्छ । तर, चालु आवको १० महिना बित्दा जम्मा २ खर्ब ३३ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी भएको छ । यो वृद्धिदर ४.८ प्रतिशत मात्रै हो । हालसम्मको अवस्था हेर्दा चालु आवमा कर्जा विस्तारको लक्ष्य नभेटिने देखिन्छ ।

अवकास कोषमा जम्मा गरेको ५ लाखसम्मको आयकर तिर्नु नपर्ने Read Previous

अवकास कोषमा जम्मा गरेको ५ लाखसम्मको आयकर तिर्नु नपर्ने

साधना र सबैको लघुवित्त मर्ज हुन राष्ट्र बैंकको अन्तिम स्वीकृति, स्वाप रेसियो कति ? Read Next

साधना र सबैको लघुवित्त मर्ज हुन राष्ट्र बैंकको अन्तिम स्वीकृति, स्वाप रेसियो कति ?