हावाहुरीले बालीनालीमा गरेको क्षतिको राहत दिन सांसदहरूको माग

काठमाडौं । सांसदहरूले केही दिनअघि तराईका विभिन्न जिल्लामा भीषण हुरीका कारण स्थानीयका घर र बालीनालीमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै प्रभावित किसानलाई सरकारले उचित राहत र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरूले वर्षायाम सुरु हुन लागेको र रोपाइँ सुरु हुनुअघि नै किसानलाई समयमै मल, बीउ र सिँचाइको प्रबन्ध गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद दीपकबहादुर सिंहले देशभरि हावाहुरीका कारण गाउँबस्तीमा घर टहरा र किसानले लगाएको मकै, केरा, मेवा, फलफूलमा क्षति पुगेको भन्दै चाँडोभन्दा चाँडो राहतको व्यवस्था गर्न सरकारसँग माग गरे ।

सांसद तेजुलाल चौधरीले नेपाल कृषिप्रधान देश भए पनि मलका लागि किसान दिनभर लाइन लाग्नुपर्ने र रित्तो हात घर फर्किनुपर्ने बाध्यता रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद डा तोसिमा कार्कीले स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ मा स्वास्थ्य संस्था तथा अस्पतालहरूले अनिवार्यरुपमा विपन्न नागरिकका लागि १० प्रतिशत शय्या छुट्याइ निःशुल्क सेवा दिनुपर्छ भनिएको छ तर यो लागू नभएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद दामोदर पौडेल बैरागीले कास्की पोखराको यम्दी निस्किने सडक निर्माण रकम भुक्तानी नहुँदा काम रोकिएको बताए ।

सांसद दीपक गिरीले दाङको देउखुरी राप्ती गाउँपालिका मसुरिया ३ मा विद्युत्को तार चुँडिएर स्थानीयको मृत्यु भएको भएका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराए । साथै उनले यस्तो घटना दोहोरिन नदिन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन घाइते भएकालाई निःशुल्क उपचार क्षतिपूर्ति र रोजगारीको व्यवस्था गर्न माग गरे ।

सांसद धनराज गुरुङले बुटवल पावर कम्पनीले हालै ४३ प्रतिशतदेखि ७० प्रतिशतसम्म विद्युत् महसुल वृद्धि गरेकाले स्याङ्जामा सेवाग्राही तथा उपभोक्ता समस्यामा परेको भन्दै समस्या समाधानका लागि माग गरे ।

हिमालयन रि इन्स्योरेन्सको १५ लाख कित्ता सेयरको लकइन पिरियड सकिँदै Read Previous

हिमालयन रि इन्स्योरेन्सको १५ लाख कित्ता सेयरको लकइन पिरियड सकिँदै

मध्य र पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मी हुने, सतर्कता अपनाउन आग्रह Read Next

मध्य र पश्चिमी तराईमा तीन दिन अत्यधिक गर्मी हुने, सतर्कता अपनाउन आग्रह