कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण गर्न ९ महिना म्याद थप

सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको म्याद पुनः ९ महिना थप गरिएको छ । आयोजनाको सम्झौता २०८१ पुस १६ गतेसम्मका लागि थप गरिएको आयोजना प्रमुख रवि चौधरीले बताए।

रु ७० करोडमा ठेक्का पाएको भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले २०७७ असारदेखि काम सुरुआत गरेको थियो ।
आयोजना निर्माणका लागि ६ हजार रुख कटानका लागि टाँचा लगाइएको आयोजना प्रमुख चौधरीले बताए । बाँके र बर्दिया जिल्लामा पर्ने राष्ट्रिय निकुञ्जमा विद्युत् विस्तार गर्नुपर्ने भएकाले रुख कटान हुने प्रमुख चौधरीले बताए ।

विसं २०७९ असार १५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने रूख कटान निर्णय गरेको थियो । मन्त्रिपरिषद्बाट निर्णय भए पनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट अनुमति आउन समय लागेका कारण काम अघि बढ्न नसकेको उनले जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णयानुसार रूखमा छपान कार्य भने सकिएको छ । सुर्खेतको वीरेन्द्रनगर–११ सुब्बाकुना र बाँकेको बैजनाथमा प्रसारण लाइन निर्माण हुने क्षेत्रमा अझै विवाद हल हुनसकेको छैन । विवाद समाधानका लागि विभिन्न चरणमा सरोकारवालासँग छलफल गरिएको भए पनि अझै निकास आउन सकेको छैन । विद्युत् लाइन विस्तार गर्दा वीरेन्द्रनगरको सुब्बाकुना र बाँकेको बैजथानस्थित बस्ती प्रभावित हुने भएपछि त्यहाँका नागरिकले अवरोध गरेर विकल्पसमेत मागेका हुन् ।

विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार बैजनाथ गाउँपालिकाको वडा नं १ गाभर र वडा नं ४ को बानियाँभार हुँदै लाइन विस्तार हुने उल्लेख छ । प्रसारण लाइन निर्माण गर्दा स्थानीयवासीलाई उचित मुआब्जा दिएर विवाद समाधान गर्न पहल भइरहेको आयोजनाको दाबी छ । पटकपटक म्याद थप्दा पनि विवाद समाधान तथा निर्माणकार्यले गति नलिँदा कर्णालीमा विद्युत्को समस्या जहाँको तहीँ छ ।

हालसम्म विद्युत् प्रसारण लाइन विस्तारको ७० प्रतिशत प्रगति हासिल भएको छ । १०५ वटा फाउण्डेसन निर्माण गरिएको छ भने १० वटा फाउण्डेसन बनिरहेका छन् । हालसम्म २५ किलोमिटर तार तान्ने काम सकिएको छ । सुर्खेतको सुब्बाकुनामा सबस्टेशन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

४०० केभी निर्माण गर्ने सरकारको उद्घोष

सरकारले आगामी आवबाट ४०० केभी प्रसारण लाइन निर्माण सुरु गर्ने बताएको छ । भेरी र कर्णाली करिडोरामा ४०० केभी प्रसारण लाइन निर्माण गर्ने सरकारको लक्ष्य छ । ४०० केभी प्रसारण लाइन १५० केभी प्रसारण लाइनमा ल्याएर जोडिने छ ।

नलगाड, ताक्सुगाड र जगदुल्ला जलविद्युत् आयोजना निर्माण भएमा उक्त विद्युत् मैनतडास्थित चार सय केभीको सबस्टेशनमा जोडिने लक्ष्य लिएको छ । नलगाडको पीपीए नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशसँग भइसकेको छ ।

जगदुल्लाको पीपीए बाफीकोटस्थित सबस्टेशनमा भए पनि पुनः दानीपिपलस्थित ४०० केभीको सबस्टेशनमा हुने भएको छ । त्यस्तै कर्णाली करिडोर हुँदै ४०० केभी प्रशारण लाइन निर्माण हुनेछ । साविकको कर्णालीलगायत अन्य दैलेखलगायतका जिल्लामा विद्युतीकरण गर्न यो काम हुने भएको हो । भेरी करिडोरमा निर्माण हुने ४०० केभी प्रसारण लाइन डबल सर्किटको छ । २ हजार ५०० मेगावाट विद्युत् यही प्रसारणमार्फत जोड्ने लक्ष्य छ । १५० किलोमिटर लामो प्रसारण लाइन निर्माण हुने राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा नेत्रप्रसाद ज्ञवालीले बताए।

३२ केभीले कर्णाली हैरानीमा

पटकपटक विद्युत् अवरोध हुँदा कर्णालीमा हैरानी भएको छ । ३२ केभी प्रसारण लाइनको विद्युत् पुराना भएकाले पटकपटक समस्या आउने गरेको छ । दिनमा कम्तीमा सातपटकभन्दा बढी अवरोध हुँदा समस्या हुने गरेको हो । हावापानी चल्नेबित्तिकै पूरै लाइन अवरुद्ध हुने गरेको छ ।

कर्णालीका उद्योगी, व्यवसायी विद्युत्को मारमा परेका छन् । बत्ती आइहाले पनि ‘लो भोल्टेज’का कारण काम गर्न गाह्रो हुने गरेको वीरेन्द्रनगर नगरपालिका–१० का मोहनजङ्ग शाहीले जानकारी दिए । उनले भने, बत्ती आए पनि पङ्खा घुम्दैन, पानी तान्ने मोटर नै चल्दैन ।’रासस

लाभांश प्रयोजनका लागि नेपाल लाइफले तोक्यो बुकक्लोज Read Previous

लाभांश प्रयोजनका लागि नेपाल लाइफले तोक्यो बुकक्लोज

बिकेन किसानको धान, कुहिएर खेर जाने अवस्था Read Next

बिकेन किसानको धान, कुहिएर खेर जाने अवस्था