पोखरा । पर्यटकीय राजधानी पोखरालाई होटलै होटलको सहरभन्दा फरक पर्दैन । यहाँ सामान्यदेखि तारेसम्म गरेर सयौं होटल छन् । होटल व्यवसायी महासंघ गण्डकीका अनुसार पोखरामा मात्रै १ हजार ४०० बढी होटल तथा रेष्टुरेन्ट संचालनमा छन् ।
ग्राहकलाई आफ्नो बजेट र पायक पर्ने स्थानका आधारमा सस्तोदेखि महँगा होटलको छनोट विकल्प छ । सामान्य होटलमा आधारभूत सुविधा छन् भने महँगा होटलमा अत्याधुनिक सुविधा उपलब्ध छन् ।
यसैबीच, पोखरामा होटलको भीडमा शान्त र सौन्दर्य रिसोर्ट खोज्नेलाई एउटा उत्तम विकल्प हो लेकसाइडस्थित ‘द लेकसाइड रिट्रिट’ रिसोर्ट । यो रिसोर्ट हस्पिटालिटी क्षेत्रमा आफ्नो लगानी बढाइरहेको आइएमई ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सञ्चालन गरिरहेको छ ।

पोखराको लेकसाइडस्थित ८ रोपनी जमिनमा फैलिएको द लेकसाइड रिट्रिट वर्षैंदेखि सञ्चालनमा थियो भने बेस्ट रिसोर्टले दुई वर्ष अघि मात्र खरिद गरेको हो । यो रिर्सोट पोखराका उत्कृट होटल तथा रिर्सोट मध्येमा पर्ने रिसोर्टका अप्रेसन म्यानेजर मनमोहन रिमाल बताउँछन् ।
‘पोखरामा सयौं होटल तथा रिसोर्ट छन् । ठूला ठूला बिल्डिङसहितका होटलहरू छन् । तर, इको रिसोर्ट छैन,’ उनले भने ‘द लेकसाइड रिट्रिट भने इकोमैत्री रिसोर्ट हो । त्यसैले हामीले यसलाई किङ्ग अफ यूएसपी भन्ने गर्छौं।’

अहिले बुटिक र इको रेष्टुरेन्ट रुचाउने ग्राहक धेरै छन् । त्यस्ता ग्राहकको रोजाई मध्येनजर गर्दै हामीले रिसोर्टमा इकोमैत्री सामानहरू प्रयोग गर्ने गरिएको उनले बताए । लेकसाइड रिट्रिटलाई इको रिसोर्ट समेत भन्ने गरिएको छ ।
‘होटल व्यवसायमा अहिले बुटिक र इको रिसोर्ट हट टपिक छ । त्यसैले हामीले प्राकृतिक स्रोत साधनलाई बचाएका छौँ,’ उनले भने, ‘हाम्रो होटलमा वातावरणलाई असर गर्ने प्लाष्टिकका भाँडाकुडा कमै मात्रामा प्रयोग भएका छन् । हामीले प्रयोग गर्ने अधिकांश सामान वातावरणमैत्री छन् ।’
होटल पस्ने बित्तिकै ठूलो पार्किङ रिसेप्सन, हल, गार्डेन देख्न सकिन्छ । कटेज नकिजै स्वमिङ पुल र बार छ । यस होटलको आर्कषण भनेको साना साना घर र गार्डेन नै हो । कोठाबाट सुन्दर बगैँचा र मनमोहक हिमालको दृश्य निहाल्न सकिन्छ ।
रिट्रिट रिसोर्टमा ३६ वटा कोठा रहेको छ । जसलाई डिलक्स र कटेजमा विभाजन गरिएको छ । । त्यस्तै, चार कोठा भएको दुई तले घरमा डिलक्स रुम र तीन वटा कटेज रुम रहेको छ ।
रिट्रिट रिसोर्टमा नेपाली र विदेशीलाई कोठाको मूल्य फरक फरक तोकिएको छ । जसमा नेपालीलाई एक रात बास बस्न डिलक्स कोठाको ६ हजारदेखि साढे ६ हजार रुपैयाँ र विदेशीलाई ८० देखि ८५ अमेरिकी डलरसम्म तोकिएको छ । साथै, कटेजमा नेपालीलाई ८ हजारदेखि साढे ८ हजार रुपैयाँ र विदेशीलाई ११० डलर निर्धारण गरिएको छ ।

होटलमा ग्राहकलाई उत्कृष्ट र स्वादिलो खाना खुवाउनका लागि विशेष सेफ राखिएको छ । नेपाली खाना प्रमोट गर्ने र ग्राहकलाई होटलभित्रै अनेकौं खानाको स्वाद दिलाउन विशेष सेफ राखिएको बताउँछन् अप्रेसन म्यानेजर रिमाल ।
‘हामीले नेपाली खानालाई प्रमोट गरिरहेका छौं । त्योसँगै मल्टी कुयुजिन पनि प्रमोट गरेका छौँ । लेक साइडमा आउट जाने कल्चर छ । स्वदेशी पर्यटकहरू खानाका लागि बाहिर जाने गर्छन् । तर, विदेशी ग्राहकालाई होटलमा नै टिकाउन रेष्टुरेन्टमा स्पेशल सेफ राखेका हौं,’ उनले भने ।
सामान्य अवस्थमा पनि होटलको अकुपेन्सी ३५ देखि ४५ प्रतिशत र विशेष समयमा शतप्रतिशतसम्म रहने म्यानेजर रिमालले जानकारी दिए । पोखरामा मुख्य गरी घुमन्ते र धार्मिक पर्यटकहरू आउने गरेका छन् ।
पोखरा आउने मुख्य मुग्लिन-पोखरा सडक निर्माणाधीन अवस्थामा रहेकाले सडकमार्ग हुँदै आउने पर्यटक केही कमी बताएको उनले बताए ।
यद्यपि, पछिल्लो समय सडकको अवस्था सुधार भएकाले पर्यटकको संख्यामा वृद्धि हुन थालेको उनको भनाइ छ । सडक पूर्ण रुपमा निर्माण सम्पन्न भइसके पछि पर्यटक आवगमन बढ्ने उनको अपेक्षा छ ।