काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो आधा घण्टाका लागि बन्द हुने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धार सम्बन्धी पूर्णकालीन अभ्यासका लागि विमानस्थल बन्द गर्न लागिएको हो ।
नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गर्दै दिउँसो १ बजेदेखि साढे १ बजेसम्म विमानस्थल बन्द गर्न लागिएको जानकारी दिएको हो ।
यो अभ्यासको सिलसिलामा विमानस्थल वरिपरीको आकाशमा कालो धुवाँका साथै दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तीव्रता आएको देख्न सकिनेछ ।
यो अभ्यासको मुख्य उद्देश्य सङ्कटको अवस्थामा सहभागी हुने विभिन्न निकायहरू बीच सहयोगको अभिवृद्धि गराउने, सहभागी निकायहरूले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्याङ्कन गरी सम्बद्ध पक्षको क्षमतामा अभिवृद्धि गराइ यस्तो दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटो भन्दा छिटो सुचारु गराउने रहेको प्राधिकरणले जनाएको छ ।