पानीले ८ करोडको इँटा नोक्सान, मूल्य बढ्ने सम्भावना

शुक्रबारदेखि परेको पानीले दाङमा पौने आठ करोड मूल्य बराबरको इँटा नोक्सान भएको छ । जिल्लामा रहेका ३२ इँटा उद्योगमा पोल्नका लागि तयार पारिएका सवा दुई करोड काँचो इँटा पानीले भिज्दा सात करोड ७७ लाख रुपैयाँ क्षति भएको हो ।

 

दाङ देउखुरी इँटा व्यवसायी सङ्घका अध्यक्ष रोम वलीका अनुसार दुई करोड २२ लाख काँचो इँटा पानीले भिजेका कारण नष्ट भएको हो । काँचो इँटाको मूल्य साढे तीन प्रतिगोटा रहेको र त्यसअनुसार सात करोड ७७ लाखको नोक्सानी भएको अध्यक्ष वलीले जानकारी दिए ।

 

घोराही क्षेत्रमा १४ तथा तुलसीपुर क्षेत्र र लमही क्षेत्रमा नौ/नौवटा इँटा उद्योग रहेका छन् । इँटा ओताउने तयारीसमेत गर्न नभएका कारण एक्कासि पानी परेकाले विगतका वर्षमा भन्दा धेरै नोक्सान भएको अध्यक्ष वलीको भनाइ छ । इँटा पार्ने साँचोबाट इँटा झरेपछि लगानीकर्ताको हुने भएका कारण मजदुरभन्दा उद्योगी मारमा परेको व्यवसायीहरु बताउँछन् ।

 

यसैबीच ठूलो मात्रामा इँटा नोक्सान भएपछि मूल्य बढ्ने देखिएको छ । अहिले १३ प्रतिगोटा पाकेको इँटाको मूल्य छ । निकै धेरै क्षति भएकाले दाङमा इँटाको मूल्य बढ्न सक्ने अध्यक्ष वलीको भनाइ छ ।रासस

नाडाको नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा कृष्ण दुलाल Read Previous

नाडाको नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा कृष्ण दुलाल

प्रभु बैंक बन्यो जावलाखेल युवा क्लबको मुख्य प्रायोजक Read Next

प्रभु बैंक बन्यो जावलाखेल युवा क्लबको मुख्य प्रायोजक