काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत इलेक्ट्रीक भेहिकल (ईभी)मा भन्सार दर बढाएपछि त्यसको असर ईभीको मूल्यमा देखिन थालेको छ ।
भन्सार दर बढेसँगै बिक्रेताहरुले धमाधम ईभीको भाउ बढाउन थालेका हुन् । यद्यपि, केही कम्पनीले बजेट अघि नै उल्लेख्य संख्यामा ईभी आयात गरेको थिए । अहिने नयाँ गाडी आयात नगरे पनि पुरानै गाडीमा मूल्य बढाउन थालेका हुन् ।
यसैक्रममा, पछिल्लो समयमा बजारमा हटकेक बनेको ईभी दिपल एस ०७ को मूल्य बढेको छ । नेपालका लागि चांगान तथा दिपलको आधिकारिक वितरक एमएडब्ल्यू मोटर कर्पले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार दिपल एस ०७ को भाउ ३ लाख रुपैयाँले बढेको छ ।
बजेट अगाडी ७१.९९ लाख रुपैयाँमा बिक्री भइरहेको दिपलको ईभीको मूल्य बढेर ७४.९९ लाख रुपैयाँ पुगेको छ । कम्पनी स्रोतका अनुसार १० प्रतिशत भन्दा धेरै भन्सार दर बढेता पनि कम्पनीले ५ प्रतिशतभन्दा कम दरमा मूल्य वृद्धि गरेको हो ।
आकर्षक डिजाइन तथा अत्याधुनिक फिचरमा उपलब्ध रहेको दिपल एस ०७ मा ९९ किलोवाट पिक पावरको इलेक्ट्रीक मोटर रहेको छ । नयाँ भन्सारदर अनुसार ५१ देखि १०० किलोवाट मोटर भएको ईभीमा भन्सार र अन्तःशुल्क ५/५ प्रतिशतले बढेको हो । नयाँ दर अनुसार यो सेग्मेन्टमा भन्सार २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत रहेको छ ।