
काठमाडौं । निजी क्षेत्रको हालसम्मकै ठूलो २८५ मेगावाटको माथिल्लो तमोर अर्धजलशययुक्त जलविद्युत् आयोजना लगानी जुटेको छ ।
तमोर इनर्जीले निर्माण गर्न लागेको यस आयोजनामा एभरेष्ट बैंकको नेतृत्वमा ८ वटा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्ने भएका हुन् ।
सम्झौतापत्रमा सहवित्तीयकरण (कन्सोर्टियम फर्म) को तर्फबाट एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुंगानाले हस्ताक्षर गरेका छन् ।
सभामुख देवराज घिमिरे, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ लगायतको उपस्थितिमा हस्ताक्षर भएको हो ।
आयोजनाको कुल अनुमानित लगानी ५५ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।आयोजनमा ७० प्रतितश ऋण लगानी र ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ । जसमा ३८ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी र १६ अर्ब ५५ करोड स्वपूँजी लगानी हुनेछ ।
आयोजनामा एभरेष्ट बैंकको नेतृत्वमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल), कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक र नेपाल एसबीआइ बैंकले लगानी गर्नेछन् ।
प्रस्तावित जलविद्युत आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुलङलिङ नगरपालिकामा निर्माण हुनेछ । प्रस्तावित जलविद्युत् आयोजनाको विस्तृत अध्ययन तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन समेत स्वीकृत भइसकेको छ ।
आयोजनमा ९१ मिटर लामो र २२ मिटर अग्लो बाँध हुनेछ । ड्यामबाट विद्युत्गृहसम्म पानी पुर्याउन ८ हजार ३७० मिटर लामो सुरुङ निर्माण निर्माण गरिने छ भने ६१३ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ । आयोजनामा निर्माण हुने भूमिगत विद्युत्गृह १०४ मिटर लामो र २० मिटर चौडाइको हुनेछ । पावरहाउसमा ५७ मेगावाट क्षमताका पाँचवटा टर्बाइन हुनेछन् ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) समेत भइसकेको छ ।सम्झौताअनुसार कम्पनीले बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ, सुक्खायाममा पिकिङ आवरमा प्रतियुनिट १०.५५ रुपैयाँ र अन्य समयमा प्रतियुनिट ८.४० रुपैयाँमा विद्युत् बिक्री गर्नेछ ।आयोजनाको सुक्खायाममा ६ घण्टा पिकिङ अवधि रहेको छ ।
यस आयोजनाबाट वार्षिक सरदर १६५५ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । उत्पादित बिजुली २२० केभीको डबल सर्किट लाइनमार्फत ढुंगेसाँघु सबस्टेसनमा जोडिने छ ।