बजेट माथि गगन थापाका प्रश्नैप्रश्न, स्वार्थ समूहलाई लाभ पुर्याउन करका दर हेरफेर गरेको आरोप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले आर्थिक ऐनमार्फत करका दरमा गरेको हेरफेर बारे प्रश्न उठाएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले सरकारले केही निश्चित स्वार्थसमूहलाई लाभ पुग्ने गरी किन करका दर हेरफेर गरेको भनेर अर्थमन्त्रीलाई प्रश्न सोधेका हुन् ।

उनले सरकारले जनता माथि करको भार थपेको बताए । सरकारले पेट्रोलियम पदार्थमा हरित करका नाममा दाहोरो कर थपेको उनको दाबी छ ।

‘पेट्रोलियम पदार्थमा यसअघि नै विभिन्न थरि कर छन्, फेरि हरित करका नाममा कर थपेर तेलमा दोहोरो तेहोरो मात्रै होइन, चोहोरो कर किन लगाइयो, यसको आधार के हो ?,’ उनले प्रश्न गरे ।

थापाले अघिल्लो सरकारले आलु प्याज र स्याउमा लगाएको भ्याट किन खारेज गरेको भन्दै प्रश्न उठाए । उनले भ्याट छुटको वस्तुको सूची कम गर्दै जानुपर्नेमा थपेर सैद्धान्तिक रुपमा अर्थमन्त्रीले उल्टो बाटो हिँडेको बताए ।

उनले अर्थमन्त्रीले विद्युतीय गासवारीको करका विषयमा गम्भीर गल्ती गरेको बताए ।

यस्तै, सांसद थापाले बजेटमा लिइएको ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्यको आधार के हो भनेर सोधका छन् । उनले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाहरूले ४ प्रतिशत आर्थिक वृद्धि हुने भनिरहँदा सरकारले कसरी ६ प्रतिशतको लक्ष्य राख्यो भनेर प्रश्न गरे ।

‘अर्थमन्त्रीज्यूले यो वर्ष ६ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्ने प्रक्षेपणको दाबी गर्नुभएको छ। अघिल्लो वर्ष पनि ठीक त्यस्तै दाबी थियो। ४ प्रतिशतको भन्दा कम रह्यो,’ उनले भने, ‘यो वर्ष हाम्रा विकास साझेदार, चाहे एशियाली विकास बैंक होस्, चाहे आइएमएफ होस् कसैल ४ भनिरहेको ठाउँमा ६ प्रतिशत आर्थिक वृद्धिदर हुन्छ भनेर जुन दाबी गर्नुभएको छ, यसको आधार के हो?’

भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा, शनिबार नयाँ प्रधानमन्त्रीको टुंगो Read Previous

भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा, शनिबार नयाँ प्रधानमन्त्रीको टुंगो

'संसदीय समितिकै निर्णय अनुसार स्पञ्ज आइरन र बिलेटमा कर हेरफेर गरिएको हो' Read Next

'संसदीय समितिकै निर्णय अनुसार स्पञ्ज आइरन र बिलेटमा कर हेरफेर गरिएको हो'