काठमाडौं । युरोपेली मुलुक पोर्चुगलले आप्रवासन नीतिमा कडाइ गरेको छ । पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आप्रवासन नीतिमा थप कडा गर्ने नयाँ योजना घोषणा गरेका हुन् ।
नयाँ योजनाअनुसार रोजगार सम्झौता भएपछि मात्रै विदेशी नागरिक पोर्चुगल जान पाउने छन् । यसअघि विश्वका जुनसुकै देशका नागरिक आप्रवासीको रुपमा पोर्चुगल पुगी १ वर्षको सामाजिक सुरक्षा कर तिरेपछि त्यहाँको आवास अनुमतिका लागि निवेदन दिन पाउँथे ।
पोर्चुगलको नयाँ नीतिले नेपालीहसहित पोर्चुगलमा आप्रवासीको रूपमा बस्न चाहने विश्वभरका नागरिकहरू प्रभावित हुने भएका छन् ।
नयाँ योजनाले पोर्चुगलको सपना बुनेका हजारौं नेपाली प्रभावित बन्ने भएका हुन् । नयाँ व्यवस्थाले हालसालै पोर्चुगल पुगेर पनि आवास अनुमतिको प्रकिया सुरू गरिनसकेका नेपालीहरू पनि समस्यामा पर्नेछन् ।
पोर्चुगल सरकारले रेसिडेन्सी कार्डको लागि आवेदन दिने प्रक्रिया ‘एक्सप्रेशन अफ इन्ट्रेस्ट’ बन्द गरिसकेको छ । पोर्चुगल सपना देखेर नेपालदेखि माल्टा, रोमानिया, क्रोएशिया जस्ता देशहरूका भिसा प्रक्रिया थालेका हजारौं नेपाली पनि प्रभावित बन्ने भएका छन् । अब पर्यटक बनेर वा अवैधानिक रूपमा प्रवेश गरेर पोर्चुगलमा कार्ड बन्ने कुनै सम्भावना छैन ।