काठमाडौं । सेयर बजारले कमब्याक गरेको छ । आइतबार १३ अंकले बढेर सोमबार झण्डै ४ अंकले घटेको नेप्से आज फेरि ६ अंकले बढेको हो ।
मंगलबार नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३ बिन्दुमा पुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम ८ करोड बढेर आज ४ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।
मंगलबार ३१५ कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० को परिसूचक बढेको छ भने ३ को घटेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.७० प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूह ०.६१ प्रतिशतले घटेको छ ।
आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको २० करोड ९२ लाख रुपैयाँको २ लाख ३० हजार ३०० कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका मध्ये १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ ।
आज ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, नाराणणी विकास बैंक ८.२४ प्रतिशत, महुलि लघुवित्त, हिमालयन लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युत्को सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले बढेको छ ।