काठमाडौं । एनसेलका ग्राहकले नासा सेक्युरिटिजमा डिम्याट र मेरो सेयर खाता खोल्दा ५० प्रतिशत छुट पाउने भएका छन् ।
एनसेल र नासा सेक्युरिटिज कम्पनीले सहकार्य गर्दै ग्राहकलाई छुट सुविधा दिएका हुन् । समझदारीपत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र नासा सेक्युरिटिजका प्रबन्ध सञ्चालक मदन पौड्यालले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार एनसेल एपबाट एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकहरूले नासामा डिम्याट खाता खोल्दा र नवीकरण गर्दा ५५ प्रतिशत छुट पाउने छन् ।
हाल डिम्याट खाता खोल्न १०० रुपैयाँ र मेरोसेयरमा सुविधा लिन ५० रुपैयाँ लाग्छ । दुवै सेवाका लागि एकपटकमा कुल १५० रुपैयाँ खर्च हुन्छ । यसमा ५५ प्रतिशत छुट पाउँदा ग्राहकले ६७.५० रुपैयाँमै मेरो सेयर डिम्याट खाता खोल्न सक्नेछन् ।
एनसेल सिम कार्ड प्रयोगकर्ताहरूले अब कतै जानपर्ने झन्झटबाट मुक्त भई एनसेल एप डाउनलोड गरी सजिलै नासा सेक्युरिटिजका विभिन्न सेवाहरू उपभोग गर्न सक्नेछन् ।
एनसेल एपको माध्यमबाट ग्राहकहरूले अनलाइनमार्फत आफ्नो पहिचान विवरण अद्यावधिक गर्ने, सेयर कारोबारका लागि अनलाइन ट्रेडिङ खाता खोल्ने, डिम्याट खाता खोल्ने, डिम्याट र मेरोसेयर नवीकरण गर्ने लगायत केही समस्या र जिज्ञासाहरू भए राख्न सक्नेछन् ।