यसपालिको मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालिको मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

प्राधिकरणले आज सार्वजनिक गरेको विवरणअनुसार बढी पानी पर्ने अनुमान गरिएको यसपालीको मनसुनमा १८ लाख १ हजारभन्दा बढी मानिस प्रभावित हुने जनाइएको छ ।

प्राधिकरणका प्रवक्ता डा। डिजन भट्टराईले कूल ४ लाख १२ हजार घरघुरीका १८ लाख एक हजारभन्दा बढी मानिस कुनै न कुनै रुपमा प्रभावित हुने अनुमान गरिएको जानकारी दिए । उनका अनुसार ८३ हजार घर परिवार प्रत्यक्ष प्रभावित हुने र १८ हजार घर परिवारलाई उद्धार तथा राहत दिनुपर्ने अवस्था आउने आँकलन गरिएको छ ।

गतवर्ष १२ लाख मानिस प्रभावित हुने अनुमान गरिएको थियो । त्यसको अघिल्लो वर्ष २० लाख बढी प्रभावित हुने अनुमान गरिएको थियो । जल तथा मौसम विज्ञान विभागले यसपाली सरदर भन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहने आँकलन सार्वजनिक गरिसकेको छ । सोही अनुसार यसपाली बढी जोखिम हुने भएकाले सबै निकायलाई आवश्यक तयारीमा लाग्न निर्देशन गरिसकिएको पनि उनले बताए ।

गृहमन्त्रालयले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना तयार भएकाले सोही अनुसार अघि बढेको डा भट्टराईले जानकारी दिए । मौसम विभागका अनुसार अब मनसुन भित्रिने समय नजिकिएको छ । सोही अनुसार गृह मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ ।

सुनको मूल्य तोलामै १७०० रुपैयाँ बढ्यो, बनायो हालसम्मकै महँगोको रेकर्ड Read Previous

सुनको मूल्य तोलामै १७०० रुपैयाँ बढ्यो, बनायो हालसम्मकै महँगोको रेकर्ड

एनसेलका ग्राहकले ६७.५ रुपैयाँमै मेरो सेयर र डिम्याट खाता खोल्न सक्ने Read Next

एनसेलका ग्राहकले ६७.५ रुपैयाँमै मेरो सेयर र डिम्याट खाता खोल्न सक्ने